२८ पुष २०८१, आईतवार

नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड



धनगढी । प्रदेश सभाका अधिकांश सदस्यहरूले सरकारका तर्फबाट बुधबार प्रस्तुत भएको नीति तथा कार्यक्रम सकरात्मक रहेको चर्चा गर्दे स्वागत गरेका छन् ।
बिहिबार तीन घण्टासम्म भएको छलफलमा सत्ता र विपक्ष दुवै तर्फका धेरै प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रम राम्रो आएको बताए । कार्यक्रम राम्रो भएर मात्रै हुँदैन त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्छ धेरै प्रदेश सभा सदस्यको भनाइ थियो ।
छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उमादेवी वादीले नीति तथा कार्यक्रम राम्रो आएको बताउँदै पछाडि परेको वादी समुदायको हीतमा विशेष कार्यक्रम ल्याउन माग गरिन । माछा, गोहीको संरक्षणका लागि नदी बचाइन्छ, भालु र बाघलाई जोगाउन वन संरक्षण गरिन्छ, तर वादीलाई राज्यले हेर्देन उनको गुनासो छ हाम्रा बच्चाहरू पढ्न नपाएर कुलतमा फसेका छन् ।
सत्तारुढ दल नेकपा (एमाले) का पूर्णा जोशीले क्षेत्रीय सदरमुकाम दिपायलका सरकारी भवन र सम्पति संरक्षण गर्ने कार्यक्रम पनि ल्याउन जरुरी बताइन् । उनले कर छल्ने प्रवृति अन्त्य गर्दे कर तिर्दा गौरव गर्ने खालको कार्यक्रम ल्याउन जरुरी भएको बताइन । एमालेकै प्रकाश रावलले सुख्खा बन्दरगाह र छेला औधोगिक क्षेत्र बनाउन सरकार गम्भीर हुनुपर्ने बताए । उनले खुला सीमाका कारण भइरहेको अवैध निकासी पैठारी रोक्न जरुरी रहेको औंल्याए ।
कांग्रेसका रणबहादुर रावलले समृद्ध प्रदेश बनाउन अल्पकालीन बजेटले जग बसाल्नुपर्ने बताए । प्रदेश सातमा राजश्व कम संकलन हुने भएकोले संघीय सरकारसँग आवश्यक बजेट माग्न पक्ष र प्रतिपक्ष एक भएर जानुपर्ने उनको धारणा थियो । उनले लोकप्रिय भन्दा काम गर्न सकिने कुरा मात्रै बजेटमा आउनुपर्ने धारणा राखेका थिए ।

केही सत्तापक्ष र प्रतिपक्षका सांसदले नीति तथा कार्यक्रम पुरातन, परम्परागत र विगतमा केन्द्रले ल्याउने जस्तो भएको टिप्पणी गरेका थिए । सत्तारुढ दल एमालेका अमरबहादुर साउदले जनतालाई अनुभूति हुने खालको खासै महत्त्वपूर्ण कार्यक्रम आउन सकेन भन्दै गुनासो गरे ।

प्रतिपक्ष दलका सांसदहरूले नीति तथा कार्यक्रममा रचनात्मक टिप्पणी गरेका थिए । कांग्रेसका भरतबहादुर खड्काले धनगढी एअरपोर्टलाई अन्तर्राष्ट्रिय बनाउन र यो प्रदेशलाई नमुना बनाउने खालका कार्यक्रम ल्याउन र पहाडको तराई ओइरिन रोक्न आफूहरू पनि सहयोगी हुने बताए । शुरुवात राम्रो हुनुपर्छ पक्ष विपक्ष नभनौ समृद्ध र नमूना प्रदेश बनाउन बसेर सल्लाह गरौं उनको जोड थियो ।
काँग्रेसकै कर्ण मल्लले दशरथ चन्द, भीमदत्त पन्त, एनडि प्रकाश चटौत, जयपृथ्वीबहादुर सिंह, पहलमानसिंह स्वाँर, द्वारिकादेवी ठकुरानी, गोविन्द गौतम जस्ता प्रसिद्ध व्यक्तिहरूको नाममा विकासका कार्यक्रम ल्याउन सकेको भए उहाँहरूको योगदानको सम्मान हुन्थ्यो भने । उनले समृद्ध प्रदेश बनाउन दाताहरूको सहयोग लिन लगानी सम्मेलन गर्नुपर्ने सुझाए ।
प्रदेश सभाका महिला सदस्यहरूले महिलाको पाठेघर झर्ने समस्याको उपचार निःशुल्क हुनु पर्ने, छाउपडी, वोक्सी र छुवाछूतको अन्त्य हुनुपर्ने माग प्रमुख रूपमा उठाएका थिए । सो अवसरमा काँग्रेसका कुमारी नन्दा बमले हिंसा पीडित र अनाथ, असाहय, बृद्धहरूका लागि अस्थायी र स्थायी आवासगृह खोल्न जरुरी भएको माग राखिन । एमालेका नेपालु चौधरीले कृषिको आधुनिकरणको माग राख्दै वास्तविक किसानको पहिचान गरेर अनुदान दिनु जरुरी भएको औंल्याए । काँग्रेसका डिल्लीराज पन्तले नौ वटै जिल्ला अस्पतालमा आइसियू सेवा विस्तार गर्न सके जनताले ठूलो राहत महसुस गर्ने बताए ।
छलफलमा अर्चना गहतराज, कुन्ती जोशी, कृष्णबहादुर चौधरी, चुनकुमारी चौधरी, कुलवीर चौधरी, दिव्येश्वरी शाह, दुर्गा कामी, देवराज पाठक, देवकी मल्ल, नन्दबहादुर साउँद र बलबहादुर सोडारीले पनि भाग लिएका थिए ।
उनीहरू सहितका अधिकांश प्रदेश सभा सदस्यले गौरीफन्टा, खक्रौला, वेलौरी, जोगवुढा लगायतका मुख्य नाका सहितका अरू धेरै छोटी नाकाको स्तरोउन्नती गर्नुपर्ने, चीनको मानसरोबरसँग जोड्न सडक पूर्वाधार बनाउनुपर्ने, धनगढी दिपायल लगायतका द्रुतमार्ग बनाउन ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
यस्तै, धेरैले चुरे संरक्षण गरेर कैलाली, कञ्चनपुर जस्ता अन्न भण्डारलाई बचाउन विशेष पहल गर्नुपर्ने, उत्पादनशील जग्गा बचाउन बाढी नियन्त्रणका कार्यक्रम ल्याउनुपर्ने माग पनि गरेका थिए । सत्ता र विपक्ष दल दुबैपक्षका सदस्यहरूले नीति तथा कार्यक्रमको भाषा शैलीमाथि पनि टिप्पणी गरेका थिए ।
प्रदेश प्रमुख मोहनराज मल्लले सरकारका तर्फबाट प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि शुक्रबार पनि प्रदेश सभामा छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार