११ श्रावण २०८१, शुक्रबार

डिपिएल २ : धनगढी टिम चौराहा फाइनलमा



धनगढी । धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्समाथि १ विकेटको रोमाञ्चक जीत निकाल्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो ।
काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा पार गरेको हो ।
धनगढीलाई अन्तिम ओभरमा जीतका लागि १० रन चाहिएको स्थितिमा तेस्रो बलमा शंकर राना २८ रनमा रनआउट भएका थिए । चौथो बलमा योगेन्द्रसिंह कार्की ६ रनमा क्याच आउट भए । तर, पाँचौ बलमा सांसद शेखले छक्का प्रहार गरेपछि धनगढीले रोमान्चक जीत हात पार्‍यो ।
खराब सुरुवात गरेको धनगढीले ओपनिङ ब्याट्सम्यान अस्फाक अहमेदलाई १ रनमै गुमायो । उनलाई काठमाडौंका सुवोध भाटीले आउट गरे । त्यसपछि ओपनर सुनील धमाला १४ बलमा १३ रन बनाएर आउट भए । रोहान मुस्ताफाले २० बलमा ३३ रन जोडेपछि धनगढीको इनिङले गति लियो । ललित राजवंशीबाट बोल्ड हुनुअघि उनले २ चौका र १ छक्का हिर्काए । लगत्तै राजु रिजाल ६ रनमा आउट भए भने राजेशपुलामी मगरले ८ रन भन्दा बढी रन जोड्न सकेनन् । धनगढीका लागि आसा बनेका सोनु तामाङ १४ रनमा काठमाडौंका सनी पटेलको एलबिडब्लुको धरापमा परेका थिए । कप्तान सोमपाल कामी पनि ६ रनमै आउट भए ।
बलिङतर्फ काठमाडौंका रसिद खान, साहब अलाम र सनी पटेलले २–२ विकेट लिए । ललित राजवंशी र सुवोध भाटीले १–१ विकेट हात पारे ।
त्यसअघि धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।
उसका लागि कस्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनको पारीमा ३ चौका र २ छक्का सामेल थिए । त्यस्तै प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले सांसद शेखको हातबाट रनआउट हुनुअघि ३६ रन बनाए । पुष्प थापाले १६ तथा भुपेन्द्र थापाले १० रन जोड्नु बाहेक काठमाडौँका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका ३ जना ब्याट्सम्यान खाता नै नखोली आउट भएका थिए ।
सुरुवाती अवस्थामै विकेट गुमाएपनि ज्ञानेन्द्र र अमितले काठमाडौँको इनिङ समालेका थिए । तर यी दुबै ब्याट्सम्यान पेभेलियन फर्किएपछि काठमाडौँको इनिङ ध्वस्त भएको थियो । ९६ रन हुँदा आफनो चौथो विकेट गुमाएको काठमाडौँले बाँकी २६ रन जोड्दा ५ खेलाडीलाई गुमाएको थियो ।
घरेलु टोली धनगढीका लागि सोमपाल कामी र ललित भण्डारीले २–२ विकेट लिए । सुनिल धमला, सांसद शेख र रोहन मुस्तफाले समान १–१ विकेट हात पारे ।
त्यस्तै दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड क्वालिफायरमा पुगेको छ । एलिमिनेटरमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगरले क्वालिफायरमा स्थान पक्का गरेको हो ।
अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि धनगढी टिम चौराहासँग प्रतिस्पर्धा गर्नेछ ।
महेन्द्रनगरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १५ रन मात्र जोड्यो । अत्तरियाका लागि विपिन चन्द्रले नटआउट २८ रन जोडेपनि जीतका लागि पर्याप्त हुन सकेन । उनले २९ बलमा १ छक्का प्रहार गरे । त्यसअघि दीपेन्द्रसिंह ऐरी २७ रनमा रनआउट भए । उनले ३५ बलमा १ छक्का प्रहार गरे ।
कप्तान सुवास खकुरेलले २५ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन जोडे । ओपनर प्रेम तामाङ ५ रनमा आउट हुँदा गौरव चिकतार १४ रनमा आउट भए ।
बलिङतर्फ महेन्द्रनगरका रोबिन क्षेत्रीले २ विकेट लिए । उनले ४ ओभरमा १६ रन मात्र खर्चिए । क्षेत्री खेलको म्यान अफ दिम म्याच भए । भुवन कार्कीले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन जोड्यो । उसका लागि आरिफ शेखले ३५ रन जोडे । पुनित मेहराले २६ र करण केसीले नटआउट २४ रन जोडे । करणले १४ बलमा ३ चौका र १ छक्का हिर्काए । रोहित कुमार पौडेलले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार