संघीय सरकारमा प्रदेश सातको प्रतिनिधित्व हुनुपर्छ : रावल (भिडियाेसहित)
धनगढी । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा प्रदेश सातका संयोजक भीमबहादुर रावलले संघीय मन्त्रीपरिषदमा प्रदेश सातबाट प्रतिनिधित्व नगराइनु अन्यायपूर्ण भएको बताएका छन् ।
धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सातबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा गरेर एमालेका २० जना सांसद भएपनि संघीय सरकारमा प्रतिधित्व नगराइनु अन्यायपूर्ण भएको बताए ।
एमाले प्रदेश संगठन कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सातबाट संघीय सरकारमा तत्काल यथोचित र न्यायोचित प्रतिनिधित्व गराउन समेत माग गरे । प्रदेश कमिटीको बैठक चैत २३ देखि २६ गतेसम्म धनगढीमा बसेको थियो ।
गृह र रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हाली सकेका रावलले प्रदेश सातको आर्थिक र व्यापारिक केन्द्रको रूपमा रहेको धनगढीसंग जोडिएको भारतीय गौरीफण्टा नाका बन्द नगर्न र यसलाई अझै सुविधायुक्त बनाउँदै लैजान प्रदेश कमिटीको बैठकले माग गरेको बताए ।
उनले बैठकले भारतले गौरीफण्टा नाकालाई एकतर्फी रूपमा बन्द गर्न लागेको ठहर गर्दै भारत सरकारसंग कुटनीतिक वार्ता गर्न सरकारसँग माग गरेको बताए ।
उनले नेकपा (माओवादी) केन्द्रसंगको पार्टी एकता बैशाखमा टुंगो लाग्न सक्ने बताए । दुबै पार्टीका तर्फबाट प्रतिवेदनहरू तयार भएर पेश भइसकेको र अन्तरिम विधानमा छलफल भइरहेकोले छिट्टै पार्टी एकता हुने उनले बताए ।
पत्रकार सम्मलेनमा वितरित प्रेस विज्ञप्तिमा घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको भत्र्सना गर्दै आक्रमणकारीलाई कारवाही गर्न पनि माग गरिएको छ । मेयरमाथि झुठा लाल्छना लगाएको पनि एमालेले ठहर गरेको छ ।
बैठकले घोडाघोडी नगरपालिका–५, देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको कुटपिटको घटनाको विरोध गर्दै एमालेले त्यस्ता घटना नदोहरिन दिन कानुन पालना गराउन प्रदेश सरकारसँग माग गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले अत्यधिक मदिरा सेवक र कुप्रथाको वशमा परि महिलामाथि गरिने आक्रमण, कुटपिट र दुव्र्यवहारको विरोध गर्दै एमालेले यस्ता क्रियाकलाप रोक्न संघीय र प्रदेश सरकारसँग माग गरेको छ ।
एमालेले प्रदेश सातको पहाडी भेगमा परेको असिनापानी र चट्याङ्गको कारण बाली नष्ट भएका किसानहरूलाई आर्थिक सहायताको व्यवस्था गर्न पनि संघीय र प्रदेश सरकारसँग माग गरेको छ ।
एक फरक प्रसंगमा नेता रावलले टीकापुर घटनाका दुई दिनकै घटना निन्दनीय रहेको चर्चा गर्दै अदालतमा पुगेका मुद्दा मामिला अदालतले नै टुंगो लगाउनुपर्ने बताए । उनले गृहमन्त्रीले रेशम चौधरीलाई जुस खुवाएको सन्दर्भमा बोल्दै संसारभर अनशन छोड्छु भन्दा जुस खुवाउने चलन रहेको बताए ।
पत्रकार सम्मेलनमा वैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा केन्द्रीय सदस्य महेश्वर पाठकले पनि बोलेका थिए । सो अवसरमा राष्ट्रि प्रजातन्त्र पार्टी डोटीका जिल्ला अध्यक्ष लालबहादुर कठायत एमाले प्रवेश गरेको जनाकारी पनि गराइएको थियो । भने प्रदेश कमिटी र विभिन्न आयोगमा विभिन्न जिल्लाका एमाले नेताहरूलाई मनोनयन गरिएको छ ।