२८ पुष २०८१, आईतवार

वैदेशिक रोजगारबारे अभिमुखीकरण



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले आइतबार युवाहरूलाई सुरक्षित तथा उपलब्धीमूलक वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण गरेको छ ।
वडा कार्यालय उर्मामा भएको अभिमुखीकरणमा ३६ जना युवाको सहभागिता रहेको थियो । कार्यक्रममा वैदेशिक रोजगारमा जाने तयारी गरिरहेका, वैदेशिक रोजगारबाट फर्केका तथा वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारका सदस्यहरूको सहभागिता थियो ।
कार्यक्रममा सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत कृष्णबहादुर विक र सामाजिक परिचालक मुकेश चौधरीले सहजीकरण गरेका थिए ।
अभिमुखीकरणमा वडा नम्बर १५ का अध्यक्ष फूलराम चौधरीले वैदेशिक रोजगारमा जाँदा सहि सूचना लिएर र सीप तालीम लिएर मात्रै जान आग्रह गरे । उनले भने– ‘वैदेशिक रोजगारीमा जाने युवाहरूलाई वैदेशिक रोजगारबारे जानकारी लिन र थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय धनगढीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा जानुहोला ।’
वैदेशिक रोजगारका अवसर र चुनौतिहरू, वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने विषयहरू, वैदेशिक रोजगारमा जाँदाको सहि प्रक्रिया र वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउन भएका प्रयास र गर्नुपर्ने कामहरूको बारे छलफल भएको थियो । कार्यक्रममा वडा सदस्यहरू समेत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार