२ माघ २०८१, बुधबार

युएनडिपीमा जागिर लगाइदिने भन्दै गठी जारी



धनगढी । कैलालीमा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) मा जागिर लगाइदिने भनी ठगी गर्ने क्रम जारी रहेको छ । आफूलाई युएनडिपीको हाकिम भन्दै पदमराज भट्ट नाम गरेका मान्छेले फोनबाटै मानिसलाई प्रलोभनमा पार्ने क्रम जारी रहेको पीडितहरूले बताए ।
‘मलाई ९८६९९१४०४० मोबाईल नम्बरबाट फोन आयो’ धनगढीका लोकराज पाण्डेले आइतबार अनुमोदन दैनिकसँग भने– ‘युनएडिपीमा जागिर गर्ने हो भन्दै पैसा माग्यो ।’ उनले ड्राईभरको जागिर लगाईदिने भन्दै १० हजार रुपैयाँ माग गरेको बताए । उनका अनुसार पदम भन्ने व्यक्तिले आइतबार नै पैसा आईएमई गर्न भनेका थिए ।
यसअघि पदमराजले कैलालीका धेरै युवालाई रोजगारी लगाइदिने भन्दै पैसा लिएको सार्वजनिक भएको थियो । पदमराजले थुप्रै युवायुवतिलाई युएनडिपी र त्यस्तै आकर्षक ठाउँमा जागिर लगाइदिने प्रलोभन दिएका थिए ।
ती युवाहरूका अनुसार पदमराजले कसैलाई युएनडिपीमा सुपरभाईजर, कसैलाई ड्राईभर, कसैलाई सेक्युरिटी गार्डमा जागिर लगाइदिने भनेर ठग्दै आएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार फोनमार्फत जागिर लगाइदिने भन्दै पैसा माग्ने वा माग्ने प्रयास गरेमा ठगी मुद्दा अन्तर्गत कारबाही गरिन्छ । उनले पीडितले उजुरी दिएमा सो व्यक्तिलाई पक्राउ गरी कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार