२६ भाद्र २०८१, बुधबार

महिलाबाट चिनी जफत गरेपछि तनाव



धनगढी । सशस्त्र प्रहरीले बिहीबार राति केही महिलाबाट चिनी जफत गरेपछि शुक्रबार दिनभरी भन्सार नाका तनावग्रस्त बनेको छ । कैलालीको मुख्य भन्सार नाकाबाट भइरहेको तस्करी नियन्त्रणमा प्रहरी सक्रिय भएपछि ओसारपसारमा संलग्न महिलाहरू आन्दोलनमा उत्रिएका थिए ।
भन्सार छलेर चिनीलगायत विभिन्न उपभोग्य वस्तु साइकलमा ओसार्ने महिलाको समूहले निर्वाध तस्करी गर्न पाउनुपर्ने जिकिर गरेका छन् । सीमामा सामान ओसारेर जिविका चलाउनुपर्ने बाध्यता भएकाले रोजगारी नछिन्न उनीहरूको माग रहेको छ ।
सशस्त्र र नेपाल प्रहरीले भन्सार नाकामा हुने तस्करी नियन्त्रण गर्दै अवैध समान जफत गर्न थालेपछि तस्करीमा संलग्न महिलाहरू आन्दोलित भएका हुन् ।
सीमावर्ती भारतीय बजार वनगाउँबाट चिनी, तेल लगायत दैनिक उपभोग्य समानहरूको तस्करी गर्ने महिलाहरूलाई केही प्रतिशत भन्सार छुट दिइदै आएको थियो । केही दिनदेखि राति ८ बजेपछि राजश्व छलेर सामान तस्करी गर्न थालेपछि प्रहरीले कडाइ गरेको हो । सामान जफत गरेको बिरोधमा शुक्रबार उनीहरूले १ घण्टा कैलाली भन्सारमा नारा जुलुस गरेका छन् ।
घर खर्च चलाउन चिनी, तेल जस्ता सामान ल्याउने गरेकाले यसमा कडाई गर्न नहुने महिलाहरूको भनाई छ । तस्करीको सामान बरामद गर्न खोज्दा महिलाहरू गाडीको अगाडि आएर सुत्ने, ढुंगामुढा गर्ने गरेको सशस्त्र प्रहरी निरीक्षक हर्क साउँदले बताए । सामान जफत गर्दा उल्टै आन्दोलन गर्ने र उनीहरूलाई नियन्त्रण गर्न पर्याप्त महिला सशस्त्र प्रहरी नहुँदा समस्या आएको उनले बताए ।
यसैबीच घटनाको समाचार संकलन गर्न गएका पत्रकारद्वय दीपक जोशी र नवराज पनेरूमाथि आन्दोलनमा उत्रिएका महिलाहरूले हातपात तथा अभद्र व्यवहार गरेका छन् ।
नेपाल पत्रकार महासंघ, कैलालीले समाचार संकलनमा अवरोध पुर्‍याएको घटनाप्रति खेद व्यक्त गरेको छ ।
महासंघका जिल्ला सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘समाचारको विषयलाई लिएर पत्रकार तथा सञ्चार माध्ययममाथि सीमानाकाबाट दैनिक रूपमा सामान ओसारपसारमा संलग्न केही महिलाहरूले गरेको आक्रमण प्रयासको घोर निन्दा गर्दै दोषिलाई कानुनी दायरामा ल्याउन महासंघ जोडदार माग गर्दछ ।’
चित्त नबुझेको विषयमा कानुनी व्यवस्था हुँदाहुँदै प्रहरीकै अगाडि पत्रकारमाथि आक्रमणको प्रयास हुनु कुनै पनि हालतमा न्याय संगत नभएको महासंघको ठहर रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार