९ माघ २०८१, बुधबार

नदीमा जेसीबी प्रयोग गरेर ढुंगा निकालिँदै



धनगढी । कैलालीको कर्णाली नदीमा जेसीबी (स्काभेटर) प्रयोग गरेर धमाधम ढुंगा निकालिने गरेको पाइएको छ । कर्णाली नदीमा वातावरणीय प्रभाव मूल्यांकन (आईई) को मापदण्ड विपरित व्यापारीहरूले जेसीबी प्रयोग गरेर ठूलो परिमाणमा ढुंगा निकालिरहेको पाइएको छ ।
लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजागाईको नेतृत्वमा वडाध्यक्षहरू, ईलाका वन कार्यालय लम्की, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीयको संयुक्त टोलीले कर्णाली नदीमा मापदण्डविपरित ढुंगा निकालिरहेको भेटाएको थियो ।
नगर प्रमुख बजगाईं नेतृत्वको टोली त्यहाँ पुग्दा जेसीबीबाट ढुंगा निकालेर टिप्परमा लोड भइरहेको थियो । टिप्परका चालकका अनुसार आफूहरू शाही कन्स्ट्रक्सनका लागि काम गर्ने र कर्णाली नदीबाट किालिएको ढुंगा छिमेकी जिल्ला बर्दियाको मालापुरमा लग्ने गरेको बताए । टिप्पर चालकका अनुसार चार वटा टिप्परबाट दैनिक दुईपटक ढुंगा ढुवानी हुने गरेको छ ।
कैलालीका कर्णाली लगायतका केही नदीखोलाबाट नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा निकासीका लागि रोक लगाइएको छ । व्यापारीहरूले कर्णालीबाट अवैध ढंगले ढुंगा निकालेर पूर्वपश्चिम राजमार्ग प्रयोग नगरी लामो र घुमाउरो बाटो राजापुर हुँदै लग्ने गरेका छन् ।
कर्णाली चिसापानीको पुलको क्षेत्र भन्दा पाँच सय मिटरभित्रबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न रोक लगाइएको छ । त्यस्तै, नदीको किनाराबाट ५० मिटरभित्रको क्षेत्रबाट पनि ढुंगा, गिट्टी, बालुवा निकाल्न पाइदैन ।
ईलाका वन कार्यालय लम्कीका अधिकृत भरत शाहले नियमकानुनको उलंघन गरेर ढुंगा, बालुवा, गिट्टी निकाल्ने काम भइरहेको बताए । उनले भने– ‘वातावरणीय हिसाबमा प्रतिकुल असर पार्ने तथा नदीको मुख्य धार नै परिवर्तन हुने खालको काम भइरहेको छ ।
वन अधिकृत शाहले नदीजन्य पदार्थको उत्खनन्को मापदण्ड विपरित नदीको बीचमा ट्याक्टर र जेसीबी लगाएर ढुंगा निकाल्ने कार्यमा संलग्न सबैलाई नियन्त्रणमा लिएर कारबाहीका लागि सिफारिस गरिने बताए ।
नगर प्रमुख बजगाईले व्यावसायीहरूलाई नियमसम्मत र मापदण्डभित्र रहेर नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा निकासी गर्न आग्रह गरे ।
यता, खुटिया नदीमा पनि दैनिक दशदेखि १२ वटा स्काभेटर प्रयोग गरी निकै ठूलो परिमाणमा ढुंगा, बालुवा र गिट्टी निकाल्ने गरिएको छ ।
जिल्ला समन्वय समिति, कैलालीले जिल्लाका १६ वटा नदीबाट ढुंगा, बालुवा र गिट्टी निकासीका लागि वार्षिक १२ करोड रुपैयाँ बढीमा ठेक्कापट्टा सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार