अयोग्य व्यक्तिले फार्मेसी सञ्चालन गरिरहेको आरोप
धनगढी । नेपाल फार्मेसी संघले सरकारी तथा निजी अस्पताल र क्लिनिकहरूमा अयोग्य व्यक्तिले फार्मेसी सञ्चालन गरिरहेकोले बिरामीले औषधिमा ठगिनु परेको आरोप लगाएको छ ।
शुक्रबार धनगढीमा भएको नेपाल फार्मेसी संघको प्रथम प्रदेश भेलामा फार्मेसीकर्मीहरूले अधिकांस सरकारी तथा निजी अस्पताल र क्लिनिकहरूमा फार्मेसी अध्ययन नै नगरेका व्यक्तिले औषधि बिक्री गर्ने गरेको आरोप लगाए ।
संघमा आवद्ध सदस्यहरूले धेरै फार्मेसी दर्ता नै नगरी सञ्चालन भइरहेका र दर्ता गरेर चलाइएका फार्मेसीहरूमा पनि अयोग्य व्यक्ति रहेको बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सरकारले फार्मेसी सञ्चालनका लागि फार्मासिष्टलाई मात्रै अनुमति दिने नियम लागू गरेको बताए । मन्त्री सोडारीले फार्मेसी व्यवसायलाई अझ व्यवस्थित बनाउन नीति नियममा समयानुकुल परिमार्जन गरिने बताए ।
नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालले फार्मेसी विषय अध्ययन नै नगरेका व्यक्तिले फार्मेसी सञ्चालन गरेका कारण समस्य बढेको बताए । उनले विगतमा योग्य तथा दक्ष व्यक्ति नभएका कारण अरूले नै फार्मेसी सञ्चालन गर्ने गरेको भए पनि अहिले नेपालमा १५ हजार बढी फार्मासिष्ट उत्पादन भइसकेको बताए ।
कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य अजय ढकालले सरकारले डिप्लोमा इन फार्मेसी पढेका व्यक्तिलाई मात्र फार्मेसी सञ्चालनको अनुमती दिनुपर्ने र सरकारी क्षेत्रमा पनि फार्मासिष्टहरूलाई मात्र भर्ना गर्नुपर्ने बताए ।
नेपाल फार्मेसी संघको प्रथम प्रदेश भेलाबाट प्रदेश फार्मेसी संघको नयाँ कार्यसमिति समेत गठन गरिएको छ ।
भेलाबाट प्रदेश अध्यक्षमा मेघेन्द्रनाथ बोहरा, उपाध्यक्षमा डम्मर हमाल, सचिवमा भरत बुढा, सहसचिवमा शेरबहादुर थापा र कोषाध्यक्षमा कर्णबहादुर बुढालाई चयन गरेको छ ।