सामाजिक परिचालन कार्यक्रम लागू
धनगढी । कैलालीमा प्रदेशस्तरीय सामाजिक परिचालन कार्यक्रम लागू भएको छ । समाज विकास गतिशीलता र सुनौलो भविष्य, नेपाल कैलालीको साझेदारीमा सो कार्यक्रम सुरु भएको शुक्रबार धनगढीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी दिइएको हो ।
सो कार्यक्रम जिल्लाको लिक्मा कटानी नदी क्षेत्रमा लागू गरिएको सुनौलो भविष्यका महासचिव डण्डीराज सुवेदीले जानकारी दिए । पाँच महिना समयावधी रहेको सो कार्यक्रमका लागि १३ लाख २५ हजार रुपैयाँ बजेट रहेको उनले जानकारी दिए ।
नदी तथा खोला प्रणालीको दुवै तर्फका प्रभावित स्थानीय घरपरिवारहरूको प्रत्यक्ष सहभागितामा सो नदी तथा खोलाको दिगो संरक्षण, व्यवस्थापन र उपयोग गर्ने, चुरे क्षेत्र अन्तर्गत रहेका उपल्लो तथा तल्लो तटीय क्षेत्रको अन्तरसम्बन्धलाई दिगो तथा कार्यात्मक बनाउने, स्थानीय स्तरमा दिगो संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि सवल चुस्त, तथा प्रभावकारी संस्थाको विकास गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
कार्यक्रम अन्तर्गत क्षमता विकास, घरधुरी सर्वेक्षण, सञ्जाल तथा क्लब गठन, योजना तथा स्वीकृत, सिकाई उपलब्धीबारे जानकारी दिने लगायतका क्रियाकलापहरू गरिने सुनौलो भविष्यका महासचिव सुवेदीले जानकारी दिए ।
समाज विकासमा गतिशीलतका अध्यक्ष देव धामीको अध्यक्षतामा भएको कार्यक्रमको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका उपसचिव केशव पराजुली, गौरीगंगाका वडाध्यक्ष पदम ऐर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकी संयोजक क्षितिज विष्टले स्वागत गरेका थिए भने सञ्चालन सुनौलो भविष्यका महासचिव सुवेदीले गरेका थिए ।