अल्पकालीन बजेटबारे छलफल
धनगढी । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशको अल्पकालीन बजेटको अन्तिम तयारी भइरहेको बेला बजेटबारे दिनहुँ छलफल चलाइरहेका छन् ।
बिहीबार भएको छलफल कार्यक्रममा प्रदेश ७ को जिल्ला समन्वय समिति महासंघ अध्यक्ष गणेश भट्टले पहाडको अनियन्त्रित बसाइसराई रोक्न गाउँघर विकास कार्यक्रमबाट पहाडको विकासमा प्रदेश सरकारले जोड दिनुपर्ने बताए । अध्यक्ष भट्टले अल्पकालीन बजेटले युवा स्वरोजगार र जनमुखी बजेट ल्याउन जोड दिए ।
सो अवसरमा बोल्दै सेती अञ्चल कर अधिकृत कृष्णबहादुर बोहराले जनतालाई कर रहरले तिर्ने वातावरण बनाउन कर शिक्षामा जोड दिनुपर्ने बताए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले बजेट छर्नु भन्दा पनि अर्थपूर्ण कार्यक्रमबाट जनतालाई राहत महसुस हुने खालका कार्यक्रम ल्याउन आवश्यक भएको बताए । कार्यक्रममा अधिकांश वक्ताहरूले प्रदेशको विकासको मुल आधार कृषि, जलविद्युत, पर्यटन र जडीबुटीलाई बजेटमा विशेष प्राथमिकतामा राख्न जोड दिएका थिए ।
छलफलमा सहभागीका सवालको जवाफ दिँदै मन्त्री बोहराले बजेटलाई सबैमा स्वामित्व दिन र जनमुखी बनाउन यस्ता छलफल कार्यक्रम आयोजना गरिरहेको बताए ।
छलफलमा जिल्ला समन्वय समितिका संयोजकहरू, कोष नियन्त्रकहरू र नौ वटै जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, कैलाली र कञ्चनपुर भन्सार अधिकृत, सेती र महाकालीका कर अधिकृत, बाजुरा, डडेल्धुरा, कञ्चनपुर, डोटी र दार्चुला तथ्यांक प्रमुख र नेपाल राष्ट्र बैंक धनगढीका प्रबन्धकको उपस्थिति रहेको थियो ।
मन्त्री बोहराले यसअघि पनि विभिन्न जिल्ला तथा सरोकारवालासँग छलफल चलाएका छन् ।