६ माघ २०८१, आईतवार

डिपिएल–२ : जीतसँगै महेद्रनगर दोस्रो स्थानमा, बिराटनगर तेस्रो



धनगढी । कप्तान विनोद भण्डारीको आकर्षक अर्धशतीय पारीसँगै महेन्द्रनगर युनाइटेडले धनगढीमा जारी रुस्लान जीत हात पारेको छ ।
बिहीबार भएको खेलमा महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले पराजित गर्‍यो । यो जीतसँगै महेन्द्रनगर अंकतालिको दोस्रो स्थानमा उक्लिएको छ । लगातार चार हार बेहोरेको रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ ।
रुपन्देहीले दिएको एक सय ४५ रनको लक्ष्य महेन्द्रनगरले दुई बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । कप्तान विनोद भण्डारीले ४८ बलको सामना गर्दै दुई छक्का र पाँच चौका हिर्काउँदै ६१ रन बनाए ।
महेन्द्रनगरका पुनित विष्टले २२ बलमा तीन चौका र चार छक्का सहित ४५ रन बनाए । चार विकेट समेत लिएका पुनित खेलको म्यान अफ द म्याच बने ।
बलिङतर्फ रुपन्देहीका दीपेश श्रेष्ठले तीन तथा सुशान भारीले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा आठ विकेट क्षतिमा एकसय ४४ रन बनाएको थियो । रुपन्देहीका प्रदीप ऐरीले एक छक्का र पाँच चौकासहित ३९ रन बनाए । त्यस्तै, सागर पुनले २८, दीपक प्रसादले १७ र कुशल मल्लले १५ बनाए ।
बिहीबार नै भएको अर्को खेलमा बिराटनगर किंग्सले धनगढी टिम चौराहलाई १८ रनले हराएको छ ।
पहिले ब्याटिङ गरेको बिराटनगर किंग्सले १९ दशमलव ५ ओभरमा १२७ रन बनायो । बिराटनगरका पवन सर्राफले ४१ रन बनाए ।
त्यस्तै, एके शाहले २४, एस कामतले १८ र बाबर हयातले १५ रन जोडे ।
धनगढी टीम चौराहका एस धमलाले चार विकेट लिए । त्यस्तै, सोमपाल कामी र रोहन मुस्तफाले दुई/दुई र ललित भण्डारी र समसाद शेखले एकएक विकेट लिए ।
१२८ रनको लक्ष्य पाएको धनगढी नौ विकेट क्षतिमा एक सय नौ रनमै सीमित भयो । धनगढीका एस रानाले २५, ए अहमदले २२ र आर रिजालले १८ रन बनाए ।
धनगढीमाथि जीत हासिल गर्न प्रमुख भूमिका निर्वाह गरेका बिराटनगरका बलर पवन सर्राफले चार विकेट लिए । वसन्त रेग्मी र पारस खड्काका नाममा दुई/दुई विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार