आत्मनिर्भर वर्ष मनाउने तयारी– मन्त्री बोहरा
धनगढी । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले ७ नम्बर प्रदेश सरकार आर्थिक वर्ष २०७५/०७६ लाई आत्मनिर्भर वर्षका रूपमा मनाउने तयारीमा रहेको बताएका छन् ।
बुधवार कैलालीको बुढीतोलामा रहेको सरकारी बाख्रा विकास फार्मको ३४ औं वार्षिकोत्सव कार्याक्रममा मन्त्री बोहराले कृषि आयातलाई घटाएर सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याउने बताए ।
उनले बुढीतोलालाई प्रदेशकै नमुना बाख्रा विकास फार्मको रूपमा विकास गरिने बताए । बुढीतोला आसपासका जनताहरूलाई कृषि अन्तर्गत बाख्रा पालनसँग जोडेर यस क्षेत्रका जनताको आर्थिक विकासमा सहयोग पुग्ने कार्यक्रम ल्याउने आश्वासन दिए ।
बुढीतोला बाख्रा विकास फार्मका प्रमुख श्यामबहादुर खड्काले यो फार्म तुलनात्मक रूपमा देशमै राम्रो फार्म भएको बताए ।