९ माघ २०८१, बुधबार

‘गौरीफन्टा नाका हटाउने षड्यन्त्र’



धनगढी । नेपाल–भारत गौरीफन्टा नाका हटाउन लागेको भन्दै कैलालीका विभिन्न विद्यार्थी संगठनहरू जुरमुराएका छन् ।
विद्यार्थी संगठनहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै गौरीफन्टा नाकालाई भारत भ्रमणमा मुख्य एजेण्डा बनाउन माग गरे ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रूपमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । गौरीफन्टा नाकालाई छोटी भन्सारमा परिणत गरी अन्यत्रै मुख्यनाका बनाउने चलखेल भइरहेकाले उनीहरूले नाका हटाएर धनगढीको भविष्य संकटमा पार्न खोजे आफ्नै पार्टीका नेताहरू विरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
गौरीफन्टा नाकालाई प्रत्येक प्रधानमन्त्रीले भारत भ्रमण गर्दा आधिकारीक नाकाको रूपमा विकास गर्न भारत सरकार समक्ष पहल गर्ने आश्वासन सुदूरपश्चिमवासीलाई बाड्दै आएका छन् । तर अहिले आएर भएकै नाकालाई पनि बन्द गरेर धनगढीवासीलाई अध्यारोमा राख्ने चलखेल भइरहेको विद्यार्थी संगठनहरूको ठहर छ ।
विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै गौरीफन्टा नाकालाई पूर्ण सुविधा सम्पन्न र प्रमुख व्यापारिक नाकाका रूपमा स्तरोन्नती गर्न माग राखेका छन् । चैत २३ गते हुने भारत भ्रमणमा गौरीफन्टा नाकाको स्तरोन्नतीको मुद्दालाई प्राथमिकताका साथ उठान गर्न पनि विद्यार्थी संगठनहरूले माग गरेका छन् ।
गौरीफन्टा नाकालाई बन्द गरेर अन्यत्रै स्थानान्तरण गर्न खोजिए त्यस्को विरोधमा हुने आन्दोलनबाट निस्कीने परिणामको सम्पूर्ण जिम्मेवारी राज्यले नै लिनुपर्ने पनि विद्यार्थीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार