१२ श्रावण २०८१, शनिबार

धनगढी ८ विकेटले विजयी



धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ अन्तर्गत बुधबार भएको खेलमा टीम चौराहा धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जीत हात पारेको छ । महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो ।
धनगढीका लागि सुनिल धमलाले सर्वाधिक नटआउट ४६ रनको पारी खेले । ४७ बलको सामना गरेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे । यस्तै धनगढीका विदेशी खेलाडी यूएईका कप्तान समेत रहेका रोहन मुस्तफाले ३९ रन जोडे । ३० बल खेलेका रोहनले ३ छक्का र १ चौका प्रहार गरे । यस्तै अर्का यूएईकै खेलाडी अस्फाक अहमदले २४ बलको सामना गर्दै ३० रन जोडे । सो क्रममा उनले ६ चौका प्रहार गरेका थिए । सोनु तामाङ १५ रनमा नटआउट रहे ।
जीतसँगै चौथो स्थानमा रहेको धनगढी ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । धनगढीले तीन खेलमा दुईमा जीत र एकमा हार बेहोरेको छ । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका भारतीय खेलाडी पुनित मेहराले २५ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मदतमा ४० रन जोडे भने भुवन कार्कीले ४० बल खेल्दै २ छक्का र १ चौकाको मदमा ३२ रन जोडे ।
यस्तै, उसका पुनित विष्टले २४ र कप्तान विनोद भण्डारीले ११ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले राम्रो स्कोर गर्न सकेनन् । धनगढीका ललितसिंह भण्डारीले ४ तथा सोमपाल कामी र सामसद सेखले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार