जनतालाई सास्ती नहुने गरी हुलाकी सडकको काम गर्न मन्त्री मगरको निर्देशन
पुनर्वास । खानेपानी मन्त्री तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बीना मगरले हुलाकी सडकको निर्माण कार्य गर्दा जनतालाई सास्ती नहुने गरि तीब्र गतिमा काम गर्न निर्देशन दिइएकी छन् ।
सडक निर्माणमा भइरहेको ढिलासुस्तीले जनतालाई सास्ती भइरहेको बताउँदै मन्त्री मगरले छिटो निर्माण सक्न निर्देशन दिए । जनताको सास्ती हामी हेरेर बस्न सक्दैनौ, अरू निकायसँग पनि छलफल गर्नुपर्ने भए हामी गर्छौ, हुलाकी सडक आयोजना धनगढीका कर्मचारी र निर्माण व्यावसायीसँग छलफल गर्दै मन्त्री मगरले भनिन्, हामी चुप लागेर बस्न ठिक हुँदैन ।
कञ्चनपुरको डोकेबजार–बेलौरी–बेल्डाडी–दैजी हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको गुनासो आएपछि मन्त्री मगरले छलफल गरकी हुन् । मन्त्री मगरले आगामी असारसम्म गर्न सकिने कामको विवरण, सडकमा धुलो र बर्खामा हिलो हुन नदिने उपायका बारेमा छलफल गरेकी थिइन् ।
असारसम्म माटो फिलिङ र ग्राभेलिङको आधा काम गर्न सकिने निर्माण व्यावसायीले जनाएका छन् । तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको छ, निर्माण व्यावसायी रोशन भट्टले भने ।
छलफलमा निर्माण व्यावसायीले बजेटको समस्या र निकुञ्ज क्षेत्रमा काम गर्न भइरहेको अवरोधबारे गुनासो गरेका थिए । जवाफमा मन्त्री मगरले काम गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी आफ्नो भएको बताइन् । कार्यक्रममा आयोजना इन्जिनियर नरेन्द्र ओझाले निर्माण कार्य सन्तोषजनक रहेको बताए ।