११ श्रावण २०८१, शुक्रबार

डीपीएल–२ : टिम चौराह धनगढी विजयी, काठमाडौंको दोस्रो जीत



धनगढी । सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि धनगढीमा जारी रुस्लान डिपिएलको सोमबारको खेलमा टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको छ ।
संघीय प्रहरी इकाई कार्यालय धनगढीको खेल मैदानमा भएको पहिलो खेलमा सोमपालले १५ बलमा ३९ रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।
त्यस्तै, धनगढीका रोहन मुस्तफाले ४० रनको योगदान दिए । खेलको म्यान अफ द म्याच सोमपाल बने ।
त्यसअघि टस हारेर ब्याटिङ गर्न निम्त्याइएको सिवाईसी अत्तरियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो ।
अत्तरियाका विपिन चन्द्र र प्रेम तामाङले २८/२८ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले २५ र दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे भने कृष्ण कार्कीले १४, गौरव चितकारा र सुवास खकुरेलले १३/१३ रन बनाए ।
बलिङतर्फ धनगढीका ललितसिंह भण्डारीले तीन विकेट लिए । चार ओभरको स्पेलमा उनले २४ रन खर्चे ।
धनगढीका विदेशी खेलाडी रोहन मुस्तफाले २ विकेट लिए । उनले चार ओभरमा एक ओभर मेडन राख्दै ३५ रन खर्चेका थिए । यस्तै, सामसद शेख र सोमपाल कामीले एक/एक विकेट लिए ।
सोमबार नै भएको अर्को खेलमा काठमाडौं गोल्डन्स विजयी भएको छ । प्रतियोगितामा काठमाडौंको यो लगातार दोस्रो जीत हो । काठमाडौं गोल्डन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको थियो ।
काठमाडौं गोल्डन्सले दिएको एक सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देही १९ औं ओभरमा एक सय २३ रनमा अलआउट भयो ।
रुपन्देहीका ओपनर प्रदीप ऐरीले अर्धशतकीय पारी खेल्नुबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । प्रदीपले ३६ बलको सामना गर्दै ५७ रन जोडे । उनले पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए । त्यस्तै, सागर पुनले १८ तथा दीपक प्रसादले १० बनाए ।
रुपन्देहीका रासिद खानले चार विकेट लिए । किफायती बलिङ गरेका रासिदले दुई दशमलव चार ओभरमा चार रन मात्रै खर्चे । ललितनारायण राजवंशीले तीन तथा साहव आलमले दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा चार विकेट क्षतिमा एक सय ८६ रनको विशाल स्कोर बनायो ।
काठमाडौंका सन्नी पटेलले ३२ बलमा ४८ रन बनाए । सो क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।
त्यस्तै, सुबोधकुमार भाटीले ४२, अमित श्रेष्ठ र नरेश बुढाऐरले ३०/३० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्लले २० र भूपेन्द्र थापाले १४ रन जोडे ।
खेलको म्यान अफ द म्याच सन्नी पटेल भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार