१ माघ २०८१, मंगलवार

महासंघको स्थापना दिवस



धनगढी । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसका अवसरमा धनगढीमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
महासंघ कैलालीको आयोजनामा भएको कार्यक्रममा दिवसको महत्त्व, महासंघको भूमिका, चुनौति र सम्भावनाबारे चर्चा गरियो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक मीन बमले पछिल्लो समयमा प्रदेश नम्बर ७ को कैलालीमा सञ्चारकर्मीहरू बढी आक्रमणमा पर्ने गरेको बताए ।
केन्द्रीय सदस्य बमले भने– पछिल्ला घटनाले कैलालीमा सञ्चारकर्मीमाथि बढि जोखिम थपिएको देखिन्छ । यस्तो किन भइरहेको छ भन्नेमा आम सञ्चारकर्मीले गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक छ ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक मनमोहन स्वाँरले आम सञ्चारकर्मीको वर्गीय हकहितको संरक्षणका साथै व्यावसायिक पत्रकारिताको विकास प्रमुख कार्यभार रहेको चर्चा गरे ।
महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक प्रकाशबिक्रम शाहले पत्रकारिता क्षेत्रलाई नै विकृति बनाउने कुनै पनि मानसिकता र गतिविधिले महासंघको गरिमा र मर्यादामा आँच आउने भएकाले आम सञ्चारकर्मीले गम्भीर हुन आग्रह गरे ।
कार्यक्रम महासंघ कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष भरत शाह, प्रेस चौतारी नेपालका क्षेत्रीय संयोजक नवराज भण्डारी र केन्द्रीय सदस्य एकिन्द्र तिमिल्सिना, पत्रकारहरू कृतबहादुर बिष्ट, सुनील आउजी, गगन ऐडी, हिमेश विक, लक्ष्मीप्रसाद जैशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघका सचिव मीन ठकुरीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष हिमाल जोशीले स्वागत गरेका थिए भने सहसचिव श्रवण देउवाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार