११ श्रावण २०८१, शुक्रबार

विकासका लागि एउटै लक्ष्य



धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको आर्थिक विकासका लागि सबैले एउटै लक्ष्य सहित अघि बढ्नु पर्ने बताएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा शुक्रबार धनगढीमा आयोजित ‘योजना तर्जुमा’ सम्बन्धि अन्तरक्रियामा मुख्यमन्त्री भट्टले अबको एजेण्डा आर्थिक क्रान्ति भएको र त्यसका लागि सवैले एउटै लक्ष्य निर्धारण गरी अगाडि बढ्नुपर्ने बताए ।
मुख्यमन्त्री भट्टले राजनीतिक नेतृत्वले अगाडि सारेका योजना कार्यान्वयन गर्न कर्मचारीको महत्त्वपूर्ण भूमिकाबारे पनि चर्चा गरे । उनले भने– ‘एकात्मक राज्य व्यवस्थाले देशको समग्र विकासलाई समेट्न नसकेका कारण संघीयताको परिकल्पना गरिएको हो ।’ उनले कर्मचारीले अहिलेको अवस्थामा सहयोग नगरेको खण्डमा संघीयता नै असफल हुने बताए ।
उनले जग्गाको तीब्र खण्डिकरण प्रक्रियालाई तत्काल रोकेर व्यवस्थित बसोवास नीति ल्याउनु आवश्यक रहेको बताए । उनले हचुवाको भरमा खेतीयोग्य जमिन प्लटिङ हुँदा उत्पादनमा ह्रास आइरहेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले राम्रो काम गर्ने कर्मचारीको मनोबल बढाउन पुरस्कार नीति ल्याइने बताए ।
कार्यक्रम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा संविधान सभाका पूर्व सदस्य हरि श्रीपाइलीले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । उनले ७ नम्बर प्रदेशमा कृषियोग्य जमिन खण्डिकरण हुँदै जाँदा खाद्यान्नमा परनिर्भरता बढिरहेको प्रति प्रदेश सरकार गम्भीर हुन आग्रह गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिहर अधिकारीले कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए । भने उपसचिव लक्ष्मणबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार