मिडियामा विषयवस्तुको समावेशीताबारे छलफल



धनगढी । मिडियामा विषयवस्तुको समावेशीताको अवस्था, तथा सुधारका सम्भावनाबारे शुक्रबार धनगढीमा छलफल भएको छ ।
फ्रि मिडिया नेटवर्कको आयोजनामा भएको छलफल कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, कैलाली उद्योग वाणिज्य संघ, इन्सेकका प्रतिनिधि सहित नेटवर्कका सदस्यहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक मीन ठकुरीले स्थानीय मिडियामा सामाजिक मुद्दा, विषयवस्तुको समावेशीता तथा विविधिकरणको अवस्थाबारे गहन अध्ययन आवश्यक रहेको बताए ।
कैलाली जिल्ला अदालत बारका अध्यक्ष प्रेम चन्दले स्थानीय मिडियाका विषयवस्तुमा समावेशीकरण र विविधिकरणका निकै सम्भावना रहेको भए पनि प्राय:ले ‘सजिलो पत्रकारिता’ मौलाएका कारण कमजोर भएको चर्चा गरे ।
अध्यक्ष चन्दले अहिले मिडियामा तीन थरी लगानीकर्ता रहेको बताए । उनले भने– एकथरी नाफा र निहित स्वार्थपूर्ति गर्ने लगानीकर्ता छन् । अर्काथरि राजनीतिक वादका आधारमा लगानी गर्नेहरू छन् र तेस्रोथरि भनेका स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न चाहनेहरू छन् । उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न चाहनेहरूले नै सधैं अभाव र दु:खकष्ट सहनु परिरहेको चर्चा गरे ।
अध्यक्ष चन्दले अहिले स्थानीय, प्रदेश र संघमा प्रतिपक्ष निकै कमजोर अवस्थामा रहेको बेला मिडियाले नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।
सो अवसरमा कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक ज्योति भट्टले अहिले पनि स्थानीय मिडियामा सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय लगायतका अनौपचारिक क्षेत्रका विषयवस्तुको कमी रहेको चर्चा गरे ।
उनले सञ्चार गृहहरूबीच कतिपय सन्दर्भमा कायम रहेको अस्वस्थ्य प्रतिस्पर्धा न्यूनीकरण गर्न पत्रकार महासंघको पहल आवश्यक रहेको बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीका कार्यक्रम अधिकृत कृष्ण विकले मिडियाका विषयवस्तुमा समावेशीता बृद्धिका लागि सञ्चार गृह तथा पत्रकारितामा सबै जातजाति, पक्षको सहभागिता तथा प्रतिनिधित्व बृद्धि गर्नुपर्ने बताए ।
कार्यक्रममा मिडियामा विषयवस्तुको समावेशीताको अवस्था तथा सुधारका पक्षबारे प्रस्तुति गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मनमोहन स्वाँरले पछिल्लो एक दशकको अवधिमा कैलाली लगायत सुदूरपश्चिमका मिडियामा स्थानीय समाचार सामग्रीको संख्यामा उल्लेख्य बृद्धि भएको बताए ।
उनले स्रोतसाधन, दक्षता, क्षमता तथा ज्ञानसीप एवं जागरुकता र तत्परताको कमीका कारण अझैं पनि समाचार सामग्रीमा समावेशीकरण तथा विविधिकरणका साथै गहन सामाजिक मुद्दामा खोजमूलक समाचारको अवस्था कमजोर रहेको चर्चा गरे ।
कार्यक्रम नेटवर्कका संयोजक तथा पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा इन्टरनेशनल एलर्टका मूल्यांकन तथा अनुगमन अधिकृत मानुषी परसाई, महासंघका सहसचिव श्रवण देउवा, पत्रकारहरू कृतबहादुर बिष्ट, लक्ष्मीप्रसाद जैशी, सुनील आउजी लगायतले समाचार सामग्रीमा समावेशीकरण सुधारका लागि सुझाव दिएका थिए ।
कार्यक्रमको सञ्चालन महासंघका सचिव मीन ठकुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्