११ श्रावण २०८१, शुक्रबार

वडा कार्यालयबाट राहदानीको सिफारिस हुनुपर्ने



लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिहरूले विदेशमा जाने युवाहरूको राहदानी बनाउँदा वडा कार्यालयबाट सिफारिसको व्यवस्था हुनुपर्ने बताएका छन् ।
सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले बिहीबार लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वडाध्यक्षहरूले वडा कार्यालयबाट नै राहदानीको सिफारिस गर्ने व्यवस्था भएमा वैदेशिक रोजगारमा गएकाहरूको तथ्यांक राख्न सहज हुने बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख टीका थापाले चालू आर्थिक वर्षमा रोजगारमा जाने युवालाई लक्षित गरी कार्यक्रम नभए पनि आगामी आर्थिक वर्षमा समेट्ने बताइन् ।
उनले नगरपालिकाको पहिलो प्रयास स्वरोजगार भएको बताइन् ।
वडा नम्बर १ का वडाध्यक्ष जनकबहादुर बमले जनप्रतिनिधिहरूले विदेश जाने युवालाई सकेसम्म स्वदेशमै रोजगारीका लागि प्रेरित गर्नुपर्ने बताए ।
३ नम्बर वडाका अध्यक्ष भक्तबहादुर चलाउनेले वैदेशिक रोजगारमा जानेहरूका लागि राहदानी बनाउदा वडा कार्यालयबाट सिफारिसको व्यवस्था गर्नेपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष माया विष्ट, ७ का वडाध्यक्ष हरिराम चौधरी, ८ का वडाध्यक्ष पूर्णबहादुर विष्ट, ९ का वडाध्यक्ष रामकृष्ण चौधरी, र वडा नम्बर १० का वडाध्यक्ष हर्कबहादुर कठरिया र कार्यपालिका सदस्य उजिरसिंह सुनारले विदेश पलायन भइरहेका युवाका बारेमा ठोस योजना ल्याउनुपर्ने बताए ।
कार्यक्रममा सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष प्रकाशबिक्रम शाहले वैदेशिक रोजगारमा रहेको समस्यालाई केही मात्रामा भए पनि सुरक्षित बनाउन सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिएको बताए ।
कार्यक्रमा सुरक्षित आप्रवासन परियोजनाका संयोजक पञ्चराम चौधरी र सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सैनाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार