११ श्रावण २०८१, शुक्रबार

द्वैध कर अन्त्य गरिने छ– मन्त्री बोहरा



बौनिया । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सरकारले द्वैध कर अन्त्य गरी एकल संक्रमणीय कर लगाउने बताएका छन् ।
आईतबार लम्कीचुहा नगरपालिकाले लम्कीमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री बोहराले जनताले दोहोरो करको मार भोग्नु नपर्ने बताए । मन्त्री बोहराले संघीय सरकारले कर प्रणाली लागु गरे प्रदेश सरकार र स्थानीय सरकारले कर लिन नमिल्ने तथा प्रदेश सरकारले कर प्रणाली लागु गरे स्थानीय सरकारले कर लिन नमिल्ने बताए ।
उनले कर बढाउनु भन्दा पनि करका दायराहरू बढाएर करमा बृद्धि गरिने बताए । मन्त्री बोहराले सरकारले कर चुहावट कडाइएका साथ नियन्त्रण गर्ने, करका लागि नया“ क्षेत्रको पहिचान गरी करमा बृद्धि गर्ने बताए । उनले उत्पादन र उत्पादकत्व बढाएर करमा बृद्धि गर्न सकिने बताए ।
एक अर्को प्रसंगमा मन्त्री बोहराले मदिरा नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताए । उनले मदिरा उत्पादन तथा बिक्रीवितरणले सरकारको राजश्वमा बृद्धि गर्ने भए पनि मान्छेको स्वास्थ्य तथा पारिवारिक जीवन ध्वस्त पार्ने भएकाले वैज्ञानिक ढंगले व्यवस्थित गरिने बताए ।
मन्त्री बोहराले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा बस्दै आएका बादी समुदायको बसोबासको जिम्मेवारी प्रदेश सरकारको भएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रतन थापा, जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदमराज चौलागाई, रंगनाथ ढकाल, उमा बादी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईले मन्त्री बोहरालाई आठ बँुदे ज्ञापनपत्र बुझाएका थिए ।
नगर प्रमुख बजगाइको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख टीका थापाले स्वागत गरेकी थिइन । कार्यक्रमको विष्णु खनालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार