१७ आश्विन २०८१, बिहीबार

थप ७३ प्रजातीका चरा भेटिए



सुखड । कैलाली जिल्लाको घोडाघोडी सिमसार क्षेत्र र त्योसंग जोडिएको चुरे क्षेत्रमा थप ७३ प्रजातिका चरा भेटिएका छन् ।
नेपाल पंक्षी संरक्षण संघले हालै गरेको सर्वेक्षण अनुसार थप ७३ प्रजातिका चरा भेटिएको जनाइएको छ । संघका परियोजना अधिकृत हिरुलाल डंगौराले ती क्षेत्रमा नयाँ र पुराना गरी हालसम्म दुई सय ९९ प्रजातिका चराको बासस्थान रहेको बताए ।
परियोजना अधिकृत डंगौराले चरा विज्ञहरूको टोलीले ती क्षेत्रमा चैत १ गतेदेखि ६ गतेसम्म चराको अध्ययन तथा सर्वेक्षण गरेको थियो । उनका अनुसार ती क्षेत्रमा सन् २०१२ मा दुई सय २६ प्रजातिका चरा रहेको पाइएको थियो ।
सन् २०१३ देखि २०१८ सम्मको अवधिमा ४६ प्रजातिको चरा चुरे क्षेत्रमा र बाँकी २७ प्रजातिका चरा घोडाघोडी सिमसार क्षेत्रमा पाइएका थिए ।
नयाँ भेटिएका प्रजातिमा राजलाचे, घेघरी घाँसे खिस्टे, राजधनेश, हिमाली गिद्ध, न्याउली चरीलगायत रहेका छन् ।
त्यस्तै, विश्वमै अति दुर्लभ मानिने कैले टाउको हाँस, डंगर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध, लघु महाचील, लोभीपापी गरुड, राजलाचे, घेघरी घाँसे खिस्ट सो क्षेत्रमा भेटिएका छन् ।
परियोजना अधिकृत डंगौराका अनुसार सो क्षेत्रमा संकटासन्ने मलाख हाँस, ठूलो धनेश, हिमाली गिद्ध, माछा कुल, खोले हुटीट्याउ प्रजातिका चरा पनि ती क्षेत्रमा नै पाइने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार