आज नवजीवनको २५ औं साधारण सभा
धनगढी । नेपालकै अग्रणी सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडको आज (शनिबार) २५ औं साधारण सभा शुरु भएको छ । साधारण सभाबाट आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन हुने छ ।
२५ वर्ष अघि स्थापना भएको नवजीवन सहकारी संस्थामा आर्थिक वर्ष ०७३/०७४ सम्म १५ करोड ३४ लाख ७३ हजार रुपैयाँ शेयर पुँजी पुगेको छ ।
त्यस्तै, संस्थाको कोष हिसाब १९ करोड ९४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । भने आर्थिक वर्ष २०७३/०७४ सम्म नवजीवनको निक्षेप दायित्व दुई अर्ब ४२ करोड ३६ लाख र ५१ हजार रुपैयाँ पुगेको छ । भने सो अवधिसम्म ऋण लगानी दुई अर्ब १८ करोड ४६ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
आज हुने २५ औं साधारण सभाबाट निर्वाचित हुने नयाँ सञ्चालक समितिका लागि दुई समुह मैदानमा उत्रिएका छन् ।
नयाँ सञ्चालक समितिका लागि रतनबहादुर कठायत र चक्रबहादुर सिंहको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
कठायत नेतृत्वको प्यानलको उपाध्यक्षमा देवबहादुर मल्ल तथा सञ्चालक सदस्यहरूमा केशवराज मिश्र, जनकराज जोशी, जयराज जोशी, नारायण लम्साल, पदमराज भट्ट र महेश बिष्ट उम्मेदवार रहेका छन् ।
त्यस्तै, सो प्यानलबाट मित्रलाल पोखरेल, यादवप्रसाद जोशी, राजसमझ चौधरी, शिवकुमार जोशी फुलारा, हरि रेग्मी, चेतराज जोशी, गिरिराज कडायत, लक्ष्मीराज पन्त र गौरी कुमारी लामा सञ्चालक सदस्यका उम्मेदवार रहेका छन् ।
त्यस्तै, सिंह नेतृत्वको प्यानलबाट डाक्टर गोविन्दराज जोशी उपाध्यक्षका उम्मेदवार रहेका छन् ।
सो प्यानलबाट सञ्चालक समिति सदस्यमा इन्दिरा जैशी, कृष्णबहादुर चौधरी, खेमराज पाण्डेय, गोपाल पाठक, घनबहादुर शाह, चेतराज ओझा, जनकराज पाण्डेय, देवबहादुर बम, देवराज पाण्डेय, विश्वनाथ ओझा, त्रैलोक्यनाथ (टिएन) जोशी लगायत उम्मेदवार रहेका छन् ।
त्यस्तै, लेखा समिति संयोजकमा जयराज जोशी र सदस्यमा ईश्वरबहादुर सिंह तथा गोपीलाल चौधरी उम्मेदवार रहेका छन् । भने जिल्ला प्रतिनिधी पदमा चेतमान साउँद उम्मेदवार रहेका छन् ।
साधारण सभाका लागि सबै तयारी पुरा भएको संस्थाले जनाएको छ । साधारण सभाबारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमासंस्थाका महाप्रबन्धक मोहनराज भट्टले साधारण सभाको सबै तयारी पुरा भएको बताए ।
यसअघि सञ्चालक समितिको कार्यकाल तीन वर्षको रहँदै आएकोमा यस वर्षदेखि विधान परिमार्जित गरि चार वर्षे कायम गरिएको छ ।
नवजीवन सहकारी संस्थामा हाल १७ हजार दुई सय ३४ शेयर सदस्य रहेका छन् । चालू आर्थिक वर्षको असारदेखि फागनु महिनासम्म नवजीवन सहकारी संस्थामा एक हजार चार सय नयाँ शेयर सदस्य थपिएको महाप्रबन्धक भट्टले बताए ।
निर्वाचनका लागि १६ वटा बुथ केन्द्र निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत प्राध्यापक डाक्टर राजेन्द्रवीर चन्दले बताए ।