१२ श्रावण २०८१, शनिबार

गोदावरी–सहजपुर सडकखण्डको मर्मत कार्य शुरु भएन



चुरे । धनगढी–डडेल्धुरा सडकको कैलालीको गोदावरीदेखि सहजपुरसम्मको सडकखण्डको मर्मत कार्य अझै शुरु हुन सकेको छैन ।
गत साउनमा आएको भारी वर्षाका कारण भासिएको सो सडकखण्डको मर्मत कार्य चैत महिनासम्म पनि अघि बढ्न सकेको छैन ।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्म सो सडकको मर्मत गरिसक्ने लक्ष्य लिएको भए पनि हालसम्म टेण्डर प्रक्रिया नै पुरा हुन नसकेको जनाएको छ ।
डिभिजन कार्यालयले पुस महिनामै टेण्डर प्रक्रिया अघि बढाएको थियो, तर सो समयमा टेण्डर दर्ता गराउने कुनै पनि कम्पनी छनौटमा पर्न सकेनन् डिभिजन कार्यालयका प्रमुख लक्ष्मी भट्टले भने– पुनः टेण्डर प्रक्रिया अघि बढाएका छौं, एक/दुई दिनमै निर्माण कम्पनी छनोट गरिसक्ने छौं । उनले टेण्डर स्विकृतपछि छनौटमा परेका कम्पनीलाई काम अघि बढाउन निर्देशन दिइने बताए ।
डिभिजन प्रमुख भट्टले वर्षायाममा सो सडकखण्डको आठ स्थान भासिएको बताए । उनका अनुसार भासिएको सडक मर्मत गर्न साढे दुई करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
सो सडकमा वाल निर्माण गर्नुका साथै आगामी दिनमा वर्षायामबाट असर हुन नदिन नाली पनि निर्माण गरिने छ डिभिजन प्रमुख भट्टले भने ।
सो सडकको मर्मत कार्य हुन नसकेपछि अहिले जोखिम रोक्न ड्रम तथा माटोको आली बनाएर राखिएको छ ।
कैलाली र कञ्चनपुरबाट सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, बाजुरा, अछाम तथा डोटीसम्म सडक यातायात सञ्चालनका लागि सो एकमात्र सडक हो ।
समयमै सडक मर्मत हुन नसकेपछि यातायात सञ्चालन कठिनाई हुने गरेको छ । सवारी साधन चालकहरू धेरै ठाउँमा सडक बिग्रेका कारण गाह्रो हुने गरेको बताउँछन् ।
सडक डिभिजन कार्यालयले आगामी असार मसान्तभित्रै सो सडकको मर्मत कार्य पुरा गर्ने भने पनि चैत महिनाको एक साता वितिसक्दा पनि टेण्डर प्रक्रिया समेत अघि नबढ्दा सो समयभित्र काम पुरा हुने सम्भावना न्युन रहेको छ ।
सो सडकखण्डमा चाडपर्वको समयमा यातायातको चाप बढ्ने गरेको भएपनि पछिल्लो समय देश संघिय संरचनामा गएसंगै प्रदेशका पहाडी क्षेत्रमा पुर्वाधार विकासका काम अघि बढाइएकोले सो सडकमा सवारी साधनको चाप पनि बढ्दै गएको चुरे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर शाह बताउँछन् । सो सडकमा मालबाहक ट्रकहरूको संख्या पनि बढेकाले बिगे्रको सडक अझैं जीर्ण बन्दै गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार