३० भाद्र २०८१, आईतवार

गढिमा–लोहागढ सडक सुधार आयोजना : मनोमानी ढंगले गठित उपभोक्ता समिति खारेज गर्न माग



धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा सडक सुधार तथा विस्तारका लागि गठन गरिएको उपभोक्ता समिति खारेज गर्न स्थानीयले माग गरेका छन् ।
जोशीपुर गाउँपालिका वडा नम्बर २ को गढिमादेखि घैलाबौनिया हुँदै लोहगढ चौराहसम्मको सडक सुधार तथा विस्तारका लागि गठित उपभोक्ता समिति मनोमानी ढंगले गठन गरिएकोले खारेज गर्न स्थानीयले माग गरेका छन् ।
स्थानीयहरूले एकलौटी ढंगले गठन गरिएको सो उपभोक्ता समिति खारेज गर्नका लागि संघर्ष समिति समेत गठन गरेका छन् ।
संघर्ष समितिका संयोजक घैलाबौनियाका टेकबहादुर बमले सो सडक सुधार तथा विस्तारका लागि बिना कुनै प्रक्रिया एकलौटी र मनोमानी ढंगले उपभोक्ता समिति गठन भएको आरोप लगाए ।
संयोजक बमका अनुसार जोशीपुर वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर चौधरी र सरोकारवाला जग्गाधनीहरूलाई कुनै जानकारी नै नदिएर सीमित व्यक्तिको मिलोमतोमा वडा नम्बर २ को पूर्व भलमन्सा लहानु चौधरीको घरमा गोप्य ढंगले तथा वडा नम्बर २ का अध्यक्ष हेमलाल चौधरीको रोहवरमा सो उपभोक्ता समिति गठन गरिएको थियो ।
संघर्ष समितिले सो उपभोक्ता समिति खारेज गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जोशीपुर गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयमा स्थानीयको हस्ताक्षरसहित निवेदन दर्ता गराएको छ ।
स्थानीयले वडा नम्बर २ र ७ का वडा अध्यक्षसहित सम्बन्धित जग्गाधनीहरूको उपस्थितिमा बैठक गरी वैधानिक ढंगले उपभोक्ता समिति गठन गर्न माग गरेका छन् ।
यता, जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष गीता कठरियाले वडा नम्बर ७ का वडाध्यक्ष जंगबहादुरलाई पटक–पटक उपभोक्ता समिति गठन गर्न आग्रह गरेको भए पनि कुनै पहल नगरेको र वडा नम्बर २ का अध्यक्षले वैधानिक रूपमा उपभोक्ता समिति गठन गरेको दावी गरिन् । उपाध्यक्ष कठरियाले वर्तमान उपभोक्ता समितिलाई नै निरन्तरता दिइने बताइन् ।
२५ लाख रुपैयाँको लागतको सो सडक सुधार तथा विस्तार योजना निर्माण हुने जनाइएको छ । सडकको लम्बाई चार दशमलव ५० किलोमिटर रहेको छ भने चौडाई १२ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार