शैक्षिक मेला हुने



धनगढी । कैलालीको धनगढीमा ‘नेक्सस भारतीय शैक्षिक मेला’ हुने भएको छ । नेक्सस एजुकेशन कन्स्लटेन्सीको आयोजनामा आज (मंगलबार) देखि बुधबारसम्म मेलाको आयोजना गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
कन्स्लटेन्सीका डाईरेक्टर भरतराज जोशीले सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रको जागरणसम्बन्धी जानकारी दिन मेला आयोजना गरिने बताए ।
मेलामा भारतका विभिन्न प्रदेशका अन्तर्राष्ट्रिय स्तरमा चर्चित पण्डित दिनदयाल युनिर्भसिटी लगायत नौ वटा युनिर्भसिटी तथा रुनगटा, अमृतसर कलेज लगायतका १६ वटा कलेजका प्राध्यापक र डिनहरूको सहभागिता रहने उनले बताए ।
मेलामा १५ वटा स्टल रहने र नेपालमा हाल पढाई नहुने विषय तथा कोर्षबारे विद्यार्थीहरूलाई जानकारी गराइने छ ।
डाईरेक्टर जोशीले मेलाबाट विद्यार्थीहरूले प्राविधिक ज्ञानहरूबारे सहजै जानकारी लिन सक्ने र विद्यार्थीहरूले ईच्छा अनुसारको विषय अध्ययन गर्नका लागि युनिर्भसिटी तथा कलेजका बारेमा सहजै जानकारी लिन सक्ने बताए । उनले मेला अवधिमा भारतका युनिर्भसिटी तथा कलेजहरूले आफना सेवा सुविधाबारे पनि जानकारी दिने बताए ।
मेलामा झण्डै तीन हजार विद्यार्थीहरूले अवलोकन गर्ने अपेक्षा रहेको छ भने झण्डै १० लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्