महिला हिंसा विरुद्धको अभियान समापन
सुखड । कैलालीको गौरीगंगा नगरपालिकाले सञ्चालन गरेको महिला हिंसा विरुद्धको अभियान आइतबार समापन भएको छ । अभियान फागुन २९ गतेदेखि सञ्चालन भएको थियो ।
अभियानका क्रममा नगरपालिकाका सबै ११ वडामा जनचेता अभिबृद्धिमूलक कार्यक्रम सञ्चालन गरिएका थिए ।
गौरीगंगा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक अञ्चला चौधरीले नगरपालिका क्षेत्रभित्र महिला हिंसा न्यूनीकरण गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताइन् ।
अभियानका क्रममा प्रत्येक वडामा महिलाहरूको सहभागितामा भेला, महिला हिंसा अन्त्यका लागि बनाइएका ऐनकानुनबारे जानकारी, नगरपालिकामा गठन भएको न्यायिक समितिको काम कर्तव्य र अधिकारबारे जानकारी लगायतका कार्यक्रम गरिएको उपप्रमुख चौधरीले बताइन् ।
त्यस्तै, अभियानका क्रममा महिला सशक्तिकरण, महिला अधिकारबारे संविधानमा गरिएका व्यवस्था, नीतिनियम, विकास निर्माण तथा निर्णय प्रक्रियामा महिला सहभागिता लगायतका विषयमा पनि जानकारी दिइएको थियो ।
उपप्रमुख चौधरीले अभियानका क्रममा नगरपालिकाका सबै ११ वडामा महिला सञ्चाज गठन समेत गरिएको बताइन् । उनले भनिन्– ‘अभियान सञ्चालन भइरहँदा प्रत्येक वडा, तथा वस्तीका महिलाले घरेलु हिंसा न्यूनीकरणमा राम्रो सक्रियता र चासो देखाएको अनुभव भयो । गाउँगाउँमा हिंसा तथा विभेदमा परेका महिलाले न्याय प्राप्त गर्नका लागि अपनाउनु पर्ने प्रक्रिया, कानुनी उपचार तथा न्यायिक समितिको भूमिका र कार्यशैली लगायतका विषयमा महिलामा निकै चासो रहेको पाइयो ।’
उनले सबै वडामा महिला सञ्जाल गठन भइसकेकाले नगरपालिकाको न्यायिक समितिलाई प्रभावकारी ढंगले काम गर्न सहज हुने विश्वास पनि व्यक्त गरिन् ।
अभियानमा सहभागीहरूले यस्ता अभियान प्रत्येक स्थानीय तहमा सञ्चालन हुनुपर्ने बताए ।