६ माघ २०८१, आईतवार

विद्यालयमा नि:शुल्क स्वास्थ्य चेकजाँच



धनगढी । धनगढी उप–महानगरपालिकामा रहेको हिलवल्र्ड बोर्डिङ स्कूलले आफ्ना विद्यालयमा अध्यनरत बालबालिकाको नि:शुल्क स्वास्थ्य चेकजाँच गराएको छ ।
शनिवार विद्यालयमै बालरोग विशेषज्ञ डाक्टर प्रणयजंग शाहलाई लगि पिजीदेखि युकेजीसम्मका ९७ जना बालबालिकाको स्वास्थ्य चेकजाँच गरिएको हो । शनिबार दिउसो ११ बजेदेखि ४ बजेसम्म डाक्टर शाहले विद्यालयमा बालबालिकाको चेकजाँच गरेका हुन् । आफ्ना बालबालिका अध्यन गर्ने विद्यालयमा नि:शुल्क रूपमा बालबालिकाको स्वास्थ्य चेकजाँच गराउन पाएपछि अभिभावक पनि खुशी भएका छन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल डिआर शर्माले सामाजिक दायित्व अन्तर्गत विशेषज्ञ डाक्टरबाट बालबालिकाको नि:शुल्क चेकजाँचको व्यवस्था गरिएको बताए । उनले भने– ‘विद्यालयमा पढाई सँगसँगै सामाजिक कार्य पनि गर्न आवश्यक हुन्छ यसैका लागि यस्ता सामाजिक कार्यको शुरुवात गरेका हौं ।’ उनले यस्ता क्रियाकलापलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
हिल वल्र्डले गरेको यो काम अन्य विद्यालयका लागि पनि प्रेरणा बन्न सक्छ । बिगत १३ वर्षदेखि सञ्चालित यो विद्यालय थप सुविधा सहित आफ्नो स्थान परिवर्तन गरी हाल धनगढी बुद्धमार्गमा सरेको छ । यसअघि धनगढी नैनादेवीमा रहेको विद्यालय ०६१ सालमा स्थापना भएको हो ।
हाल कक्षा आठसम्म पढाई हुँदै आएको सो विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि कक्षा नौसम्म पढाई हुने भएको छ ।
प्रिन्सिपल शर्माले हाल सारिएको स्थानमा विद्यालयमा पुर्वाधार थप्नुका साथै विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई बढाउन खेलमैदानको समेत व्यवस्था गरिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने गरी तयारी भएको बताए । अहिले मन्टेश्वरी प्रविधिलाई व्यवस्थित गरिएको, विद्यालयमा विज्ञान ल्याव, कम्प्यूटर ल्याव, पुस्तकालय लगायतको व्यवस्था गरिएको बताए । विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थीहरू अध्यनरत रहेका छन् । दुई वटा गाडी पनि रहेकाले विद्यार्थीहरूलाई आवत जावतमा सहज हने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार