१ माघ २०८१, मंगलवार

महिला हिंसा विरुद्ध अभियान



धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले ११ वटै वडामा महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरेको छ । फागुन २९ गतेदेखि सुरु गरेको महिला हिंसा विरुद्धको अभियान आज आइतबारसम्म चल्नेछ ।
नगरपालिका क्षेत्रमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरिएको गौरीगंगा नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी संयोजक अञ्चला चौधरीले जानकारी दिइन् ।
अभियान अन्तर्गत गौरीगंगा नगरपालिकाका ११ वटै वडाहरूमा महिला सञ्जाल समेत गठन गरिँदै आएको संयोजक चौधरीले बताइन् ।
प्रत्येक वडामा महिलाहरूको भेला गराई अत्यधिक महिलाहरूको सहभागितामा महिला हिंसा विरुद्ध कानुनी व्यवस्थाबारे जानकारी, नगरपालिकामा गठन भएको न्यायिक समितिका काम कतव्र्य र अधिकारका बारेमा जानकारी समेत दिइने गरिएको छ ।
नगरपालिकामा गठन भएको न्यायिक समितिले हिंसामा परेका महिलाहरूलाई के कस्तो सुविधा दिएको छ भन्ने बारेमा महिलाहरूलाई जानकारी दिइने गरेको संयोजक चौधरीले बताइन् ।
महिला हिंसा विरुद्धको अभियान अन्तर्गत महिलाहरूको भौतिक विकाससँगसँगै चेतना अभिबृद्धि, महिला हिंसाबारे संविधानमा लेखिएका नीति नियम, विकास निर्माण लगायत अन्य स्थानमा महिला सहभागिताका बारेमा जानकारी दिइने उपमेयर चौधरीले जानकारी दिइन् ।
नगरपालिकाका हरेक गतिविधिमा महिला सहभागिता बढाउनुको साथै महिला अधिकारका बारेमा सचेतना अभिबृद्धि गर्न आवश्यक भएकोले सो अभियान सञ्चालन आवश्यक भएको उनको भनाइ छ ।
सचेतनाको अभावमा समाजमा महिलाहरूले विभिन्न खाले महिला हिंसा सहेर बस्नुपर्ने बाध्यता भएकाले महिलाहरूलाई महिलामैत्री कानुनबारे जानकारी दिन आवश्यक भएको उपमेयर तथा न्यायिक समितिकी संयोजक चौधरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार