अवैध रूपमा भित्र्याइएको कुखुरा बरामद
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ कटानबाट शुुक्रबार सशस्त्र प्रहरीले भारतबाट भित्र्याइएका अवैध कुखुरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल त्रिनगरको एक टोलीले कटानबाट करिब ६० किलो तौलको अवैध कुखुरा बरामद गरेको जनाइएको छ ।
सहस्त्र प्रहरी नायव निरीक्षक टंकप्रसाद सापकोटाको नेतृत्वमा खटिएको गस्ती टोलीले कुखुरा बरामद गरे पनि भित्र्याउने व्यक्ति भने फरार भएको जनाइएको छ ।
प्रनानि सापकोटाले बरामद कुखुराहरू पशु क्वारेन्टाईन, नेपाल प्रहरी, पोल्ट्री तथा माछा मासु व्यावसायी संघका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको बताए ।
पछिल्लो केही समय यता भारतबाट धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट अवैध कुखुराहरू भित्रिने क्रम बढेको छ ।
पोल्ट्री तथा माछामासु व्यावसायी संघका अध्यक्ष जीतेन्द्र यादवका अनुसार फागुन महिनामा मात्र एक लाख २० हजार रुपैयाँ मूल्यको अवैध कुखुराहरू बरामद गरिएको छ ।
पटक–पटक नेपाल प्रहरी तथा शशस्त्र प्रहरीले सीमाबाट अवैध रूपमा भित्रिरहेका कुखुराहरू बरामद गरेपनि व्यक्तिहरूलाई पक्राउ नगर्ने र पक्राउ गरेपनि बिना कारबाही छोड्ने प्रवृतिका कारण सो क्रियाकलापमा कमी आउन नसकेको अध्यक्ष यादवले बताए ।
उनले भारतमा कुखुराहरू सस्तो मूल्यमा पाइने भएका कारण यहाँका व्यापारीहरूले भारतका कुखुरा भित्र्याउने गरेको पाइएको बताए । भारतमा कुखुरा प्रति किलोग्रामको एक सय ६५ रुपैयाँका दरले पाइने र नेपालमा दुई सय २० रुपैयाँका दरले पाइने गरेको छ । उनले भारत सरकारले कुखुराको दाना, व्यवसायीलाई अनुदान लगायतको व्यवस्था गरेकोले न्यून मूल्यमा पाइने गरेको बताए ।