४ जेष्ठ २०८१, शुक्रबार

वनस्रोतको अधिकतम उपयोग गर्नु पर्छ– उपसभामुख



धनगढी । प्रदेश नम्बर ७ का उपसभामुख निर्मला जोशी (बडाल) ले सरकारले नयाँ नीतिका साथ वन सम्पदाको अधिकतम उपयोग गर्नुपर्ने बताएकी छन् ।
‘यो प्रदेशको मुख्य सम्पत्ती भनेको वन नै हो’ शुक्रबार सामुदायिक वन उपभोक्ता महासंघ, कैलालीले धनगढीमा आयोजना गरेको गोष्ठीमा उपसभामुख जोशीले भनिन्– ‘वनभित्र रहेका जडिबुटी, काठपात लगायतको समुचित उपयोग गरेर प्रदेशको आम्दानी वृद्धि गर्न सकिन्छ ।’ उनले वनको सहि सदुपयोग हुन नसक्दा प्रदेशभित्र गरिबी तथा बेरोजगारी कम हुन नसकेको चर्चा गरिन् ।
उपसभामुख बडालले वन संरक्षण सबैको समान दायित्व भएकोले प्रदेश भित्रको वन संरक्षणमा स्थानीय तह र वन उपभोक्ताबीच कुनै पनि किसिमको अन्तरविरोध र विवाद सिर्जना हुन नदिन सजग हुन आग्रह गरिन् । उनले वनको स्वामित्व स्थानीय तहको हुनुपर्ने बताइन् ।
कार्यक्रममा प्रदेश नम्बर सातका वन तथा वातावरण मन्त्री माया भट्टले प्रदेश सरकारले जनतालाई सहज हुने ढंगले वन सम्बन्धी कानुन निर्माण गर्ने बताइन् ।
वन तथा वातावरण मन्त्री भट्टले सबै सरोकारवालाहरूको सुझावका आधारमा प्रदेश सरकारले वन सम्बन्धी नीति बनाउने बताइन् ।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश कार्कीले देश संघीयतामा गएकाले सोहीअनुसार सामुदायिक वन समितिले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अध्यक्ष कार्कीले सामुदायिक वन स्थानीय तहको मातहतमा हुनुपर्ने बताए । उनले भने– ‘वन संरक्षणमा जनप्रतिनिधिलाई अहम् भूमिका प्रदान गरिनु पर्दछ ।’
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य ठाकुर भण्डारीले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नेपालका लागि व्यवहारिक नभएको चर्चा गरे । उनले सुनियोजीत तवरले नेपालको सम्पत्तीको रूपमा रहेको वनलाई समाप्त पार्न यो कार्यक्रम ल्याइएको दावी गरे । उनले जनताले बुझ्नै नसक्ने ढंगले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ल्याइएको दावी गरे ।
कार्यक्रम महासंघकी केन्द्रीय कोषाध्यक्ष मञ्जु मलासीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट, गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत, गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा, चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर घर्तीमगर, जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सुदिर कोइराला, कैलाली जिल्ला वन कार्यालयका वन अधिकृत नवराज काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
महासंघका कैलाली अध्यक्ष तुलसी देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासंघका दार्चुला अध्यक्ष जगदिशचन्द्र अवस्थीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार