४ जेष्ठ २०८१, शुक्रबार

नगर प्रमुख चौधरीमाथि आक्रमण घटना : निर्दोष व्यक्तिहरू पक्राउ गरिएको गुनासो



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरेको आफन्तहरूले गुनासो गरेका छन् ।
आक्रमण घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिका आफन्तहरूले शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई भेट्दै प्रहरीले बिना अनुसन्धान निर्दोष व्यक्तिहरूलाई पक्राउ गरेको गुनासो गरे । आफन्तहरूले घटनाको सत्यतथ्य छानविन गर्न पनि माग गरे ।
प्रमुख जिल्ला अधिकारी रिजालले घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धानको प्रक्रियामा रहेका कारण सत्यतथ्य बाहिर आउन समय लाग्ने बताए ।
त्यस्तै, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई आक्रमण गरेको भन्दै प्रहरीले नेकपाका कार्यकर्तालाई पक्रिन थालेपछि आज (शनिबार) कैलाली बन्दको घोषणा गरिएको छ ।
यसैबीच, पक्राउ परेका सबैलाई बिनासर्त रिहाईको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (शनिबार) कैलाली बन्दको घोषणा गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले नगर प्रमुख चौधरीमाथि भएको सांघातिक आक्रमणमा आफ्नो पार्टीको कुनै हात नरहेको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
विज्ञप्तिमा प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाई सार्वजनिक गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार