४ जेष्ठ २०८१, शुक्रबार

सामुजिक विकृति विरुद्ध प्रहरी अभियान



धनगढी । नेपाल प्रहरीले कैलालीका विभिन्न स्थानमा सामाजिक विकृति तथा विसंगति विरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्ने भएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयले समाजमा रहेका विकृति, कुसंस्कार, विसंगतिलाई न्यूनीकरण गर्न प्रत्येक शनिबार तथा सार्वजनिक बिदाका दिन अभियान सञ्चालन गर्ने जनाएको छ ।
फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलियामा १८ वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप कुटपिट घटना भएपछि प्रहरीले सामाजिक विकृति, विसंगति विरुद्ध अभियान सञ्चालन गर्न झन आवश्यक भएको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।
‘हामीले जिल्लाका विकट बस्तीमा प्रत्येक शनिबार सामाजिक विकृति अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्न लागेका छौं’ शुक्रबार अनुमोदन दैनिकसँगको टेलिफोन कुराकानीमा प्रहरी उपरीक्षक घिमिरेले भने– ‘जहाँ अझै पनि अन्धविश्वास, बोक्सी प्रथा, छाउपडी लगायतका प्रथा रहेका छन्, ती ठाउँमा हामी यो अभियान सञ्चालन गर्नेछौं ।’
प्रहरी उपरीक्षक घिमिरेले प्रहरीले जनस्तरबाट नै यस्ता कार्यक्रम सञ्चालन गरिने बताए । ‘जबसम्म हामीले मानिसको चेतनामा परिवर्तन ल्याउन सक्दैनौं, तबसम्म अपराधिक गतिविधिको अन्त्यको कल्पना गर्न सकिदैन’ प्रहरी उपरीक्षक घिमिरेले भने– ‘समाजमा अपराधिक घटनामा कमी ल्याउन मानिसको चेतनाको विकास गर्न जरुरी छ ।’
उनले पछिल्लो समय जिल्लामा साईबर क्राईम, जघन्य अपराध, बलात्कार लगायतका घटनाहरू बढ्दै गएको बताए ।
उनले प्रहरीले अपराध न्यूनीकरणका लागि अपराध शिक्षा अघि बढाएको बताए । प्रहरीले सञ्चालन गर्न लागेको सो अभियानअन्र्तगत प्रोजेक्टर, पर्चा, पम्पलेट लगायतबाट कुसंस्कार, कुरीतिविरुद्धका कार्यक्रम आम नागरिकलाई जानकारी दिइने छ ।
त्यस्तै, प्रहरीसँगै प्रदेश सरकारले पनि कुरीति विरुद्धका विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरिरहेको छ । ‘हामीले कुरीति, विसंगति, कुसंस्कार लगायतका विरुद्ध कडा कारवाही गर्ने भनेर संविधानमै व्यवस्था गरेका छौं’ ७ नम्बर प्रदेशकी उपसभामुख निर्मला जोशी (बडाल) ले भनिन्– ‘संविधानमा व्यवस्था गरेर मात्र केही नहुँदो रहेछ त्यसैले जनचेतनामूलक कार्यक्रमहरूमा जोड दिइनुपर्छ ।’
उनले नगरपालिका तथा गाउँपालिका एवं वडा स्तरबाटै यसको अन्तयका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।
सरकारले व्यवस्था गरेको महिला, बालबालिका तथा दलित लक्षित कार्यक्रमको बजेटबाट स्थानीय स्तरलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने र प्रदेश सरकारले पनि सोही अनुसार योजना तथा कार्यक्रमहरू अघि बढाउने तयारी रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार