२ जेष्ठ २०८१, बुधबार

२० वर्ष पुराना सवारी साधनमा रोक



धनगढी । प्रदेश नम्बर ७ मा बिहीबारदेखि २० वर्ष पुराना सार्वजनिक तथा पर्यटक बोक्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यातायात व्यवस्था विभागको गत फागुन २८ गतेको पत्रानुसार सात नम्बर प्रदेशमा पनि २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।
यातायात व्यवस्था विभागले प्रदूषण, दुर्घटना र ट्राफिक जामको मुख्य कारण पुराना गाडी भएको उल्लेख गर्दै २० वर्ष पुराना गाडी तत्काल हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनको पालना गर्न बुधबार धनगढीमा जिल्ला यातायात व्यवस्थापन समितिका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा समितिको बैठक बसेको थियो ।
उक्त बैठकले २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउने र २० वर्ष पुराना गाडी सडकमा गुडे/नगुडेको निगरानी गर्ने जिम्मा पनि यातायात व्यवस्थापन समितिलाई नै दिएको छ ।
२० वर्ष पुराना गाडी सञ्चालन गरी पाइएको भए सुरुमा सम्झाई बुझाई गर्ने र नमाने जफत गरिने यातायात व्यवस्थापन समितिका सदस्य सचिव तथा सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुषालले बताए ।
सेती अञ्चलमा मात्रै २० वर्ष पुराना तीन सय ९२ छन् । जसमध्ये १६ जीप, ४९ टेम्पो र तीन सय २७ ट्रक तथा बस रहेका छन् । महाकली अञ्चलमा पनि करिब चार सयको हाराहारीमा २० वर्ष पुराना गाडी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार