२ जेष्ठ २०८१, बुधबार

सरकार शान्ति, सुव्यवस्था कायम गर्न कटिवद्ध– मुख्यमन्त्री



धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार प्रदेशमा शान्ति, सुव्यवस्था काम गर्न कटिवद्ध रहेको दोहोर्‍याएका छन् ।
‘केही दिन यता केही ठाउँमा अपराधिक घटनामा बृद्धि आएको सुनिरहेको छु’ प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले बिहीबार धनगढीमा आयोजना संयुक्त पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री भट्टले भने– ‘सरकारले प्रदेशमा शान्ति सुरक्षा बलियो बनाउन आवश्यक गृहकार्य गरिरहेको छ ।’
मुख्यमन्त्री भट्टले संघीय संरचना अनुसारका ऐनकानुन बनिनसकेको तथा प्रहरी सम्बन्धी अधिकार प्रदेश सरकारमा आइनसकेकोले केही कठिनाई भइरहेको बताए । उनले भने– ‘प्रदेश सरकारले शान्ति सुरक्षा बलियो बनाउन आवश्यक कानुन बनाउन कुनै कसर बाँकी राख्ने छैन ।’
उनले समाजमा कुरीति, बिसंगति, रुढीवादी लगायतका कारणले पनि अपराधिक गतिविधिमा बृद्धि भइरहेको बताए । उनले भने– ‘यस्ता अपराधिक गतिविधि कम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
उनले घोडाघोडी नगरपालिका वडा नम्बर ५ मा बोक्सीको आरोपमा युवती राधा चौधरीमाथि भएको कुटपिटको घटना र नगर प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणका विषयमा सुरक्षा समितिसँग जानकारी लिई आवश्यक कारबाहीका लागि पहल गर्ने बताए ।
मुख्यमन्त्री भट्टले कानुनको अभावका कारण धेरै कुरा गर्न नसकेको बताए । उनले प्रदेश सरकारले बनाउने कानुनबाट भ्रष्टाचार न्यूनीकरण, सुशासन, कर्मचारी समायोजन लगायतका थुप्रै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
उनले प्रदेश सरकारले केही दिनभित्रै अल्पकालीन बजेट ल्याउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार