२ जेष्ठ २०८१, बुधबार

शिवपुरी धाममा गौ संरक्षण महायज्ञ हुँदै



धनगढी । कैलालीका तीन स्थानीय तहको सहयोगमा प्रशिद्ध शिवपुरी धाम, धनगढीमा गौ संरक्षण महायज्ञ आयोजना हुने भएको छ ।
धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा वैशाख १८ गतेदेखि २५ गतेसम्म सो महायज्ञ सञ्चालन हुने बुधबार जानकारी दिइयो ।
कैलालीका विभिन्न क्षेत्रका सामुदायिक छाडा पशुको व्यवस्थापनका लागि विभिन्न प्रयासहरू हुँदै आएपछि चुनौति थपिदै गएपछि सो महायज्ञ गरिन लागेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताए ।
नगर प्रमुख वडले व्यवस्थापन तथा आर्थिक संकटका कारण कुनै पनि स्थानीय तहले पुर्ण रुपमा सामुदायिक छाडा पशुको व्यवस्थापन गर्न नसकेको चर्चा गरे ।
पुन: गौ संरक्षण महायज्ञ २०७५ नामक सो महायज्ञ सञ्चालनका लागि शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिंग धामका संयोजक योगेन्द्र मल्लको संयोजकत्वमा बुधबार मुल आयोजक समिति पनि गठन गरिएको छ ।
संयोजक मल्लले समुदायबाट गाईको दूध खाएर छोड्ने प्रविधि रोक्नका लागि महायज्ञको आयोजना गरिएको बताए । उनले महायज्ञबाट उठेको रकम छाडा गाईको व्यवस्थापनमा खर्च गर्ने संयोजक बताए ।
महायज्ञ आयोजक समितिका कोषाध्यक्ष पदमराज जोशीले विभिन्न उपसंयोजक समेत तोकिएको जानकारी दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रासद रिजालले प्रशासनले महायज्ञमा समन्वयको भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार