२२ आश्विन २०८१, मंगलवार

लैंगिक उत्तरदायित्वलाई प्राथमिकता दिइने



धनगढी । धनगढी उपमहानगरापालिकाका पदाधिकारीहरूले आगामी बजेटबाट लैंगिक उत्तरदायित्वलाई प्राथमिकता दिइने बताएका छन् ।
बुधबार जनप्रतिनिधिहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिकाले समावेशी बजेटलाई प्राथमिकता दिने बताए ।
नगर प्रमुख वडले दुई दशकसम्म जनप्रतिनिधिबिहीन रहेका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनेको चर्चा गरे ।
उनले विगतमा लामो समयसम्म जनप्रतिधिबिहिन बनेका कारण स्थानीय तहमा लैंगिक समावेशीतालाई ध्यान दिन नसकेकाले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व तुलनात्मक रूपमा कमजोर रहेको बताए ।
वडा नम्बर चारका महिला वडा सदस्य माया भण्डारीले नेपालको निजामति सेवामा हाल ८४ प्रतिशत पुरुषको बाहुल्यता रहेको, महिलाका क्षेत्रमा न्यून बजेट बिनियोजन हुनु गरेको र भएको बजेट पनि सोही क्षेत्रमा कार्यान्वयन नहुंदा अहिलेसम्म महिलाहरू पछाडी परेको चर्चा गरिन् ।
उनले संघीयता कार्यान्वयनका चरणमा रहेकोले स्थानीय तहको निर्वाचन पछि आम नागरिकमा समावेशिताको अनुभूति हुन थालेको बताइन् । उनले प्रत्येक वडामा महिला सदस्यको अनिवार्यता भएपछि निर्वाचित भएर आएका वडा सदस्यहरू अहिले आफ्ना हक अधिकारका लागि आवाज उठाउन थालेको बताइन् । उनले धनगढी उपमहानगरपालिकामा निर्वाचित भएर आएका महिला सदस्यहरूले अव लैंगिक उत्तरदायी बजेट कार्यान्वयनमा जोड दिइरहेको जानकारी दिइन् ।
लैंगिक उत्तरदायी बजेट निर्माणवाट महिलाहरूलाई कस्तो लाभ पुग्न सक्छ त ? स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठले अब हरेक स्थानीय तहले महिला र पुरुषका फरक–फरक आवश्यकताका आधारमा बजेट निर्माणमा जोड दिनुपर्ने श्रेष्ठले बताए ।
स्थानीय तहले खर्च गर्ने बजेटबाट पुरुष सरह महिला पनि लाभान्वित हुनका लागि लैड्डिक उत्तरदायी बजेट निर्माणमा जोड दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार