सवारी चेकजाँचका क्रममा प्रहरी घाइते
धनगढी । सवारी चेकजाँचमा खटिएका एकजना प्रहरी जवानलाई मंगलबार राति एक मोटरसाईकल चालकले ठक्कर दिँदा घाइते भएका छन् ।
मंगलबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा सवारी चेकजाँच गर्दै गरेका जवान मदनराज भट्टलाई अत्तरिया तर्फबाट आइरहेको नयाँ (नम्बर नखुलाइएको) मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए । उनले मोटरसाइकल चालक विमल कलेललाई चेकजाँचका लागि रोक्न खोज्दा ओभरट्याक गरेर भाग्न खोज्दा दुर्घटना भएको बताए ।
मोटरसाइकल चालक कलेलले मदिरा सेवन गरी बिना हेल्मेट चलाउनुका साथै तीन जना यात्रु बोकेको र त्यसैमा उच्च गतिमा सवारी हाँकेका कारण रोक्न खोज्दा समेत मोटरसाइकल नरोकिएको उनले बताए ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरी जवान मदन भट्टको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र चालक कलेल प्रहरी नियन्त्रणमा रहेका छन् ।