१२ श्रावण २०८१, शनिबार

विप्लव माओवादीका चारजना विरुद्ध मुद्दा दायर



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गत सोमबार राति भएको भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरिएका नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका चार जना कार्यकर्तामाथि मुद्दा दायर भएको छ ।
उनीहरूलाई मंगलबार बिहान प्रहरीले सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
उनीहरू चारै जनामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार ज्यान मार्ने उद्योग अन्तर्गत कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गराएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मंगलबार बिहान विप्लव नेतृत्वको माओवादी पार्टी निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी र सोही दिन साँझ धनगढी युवा नगर ईन्चार्ज पुरन खनाललाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।
तर, माओवादी (विप्लव) ले भने मंगलबार दिउँसो विज्ञप्ति जारी गरी नगर प्रमुख चौधरीमाथि आफ्नो पार्टीबात आक्रमण नभएको जनाएको थियो ।
माओवादी (विप्लव) का कैलाली जिल्ला सेक्रेटरी रामबहादुर चौधरी ‘महान’ द्वारा जारी विज्ञप्तिमा ‘पार्टीले नगर प्रमुख चौधरीमाथि कारवाही गर्ने भनेर फागुन २७ गते विज्ञप्ति जारी गरेको भए पनि २८ गते पार्टीका सबै कार्यकर्ता धनगढीमा आयोजना भइरहेको भेलामा सहभागी भएको’ उल्लेख थियो ।
मंगलबार जारी गरिएको विज्ञप्तिमा भनिएको थियो– ‘वर्तमान सरकारबाट राष्ट्रिय रूपमा नै बदनाम बोक्सी काण्डलाई ओझेलमा पार्ने गरी मेयरमाथि भएको आक्रमण घटनामा हाम्रो प्रेस विज्ञप्तिलाई बहाना बनाएर कायरतापूर्ण ढंगले राजनीतिक पूर्वाग्रह गर्न खोजिएको छ ।’
यसैबीच, गोली तथा खुकुरी प्रहारबाट गम्भीर घाइते नगर प्रमुख चौधरीको दाया मृर्गौला नजिक भेटिएको गोली दुईतीन दिनमा निकालिने बताइएको छ ।
उनी हाल काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका छन् । हाल काठमाडौंमा रहेका रहेका नेकपा (एमाले) कैलालीका अध्यक्ष तथा प्रदेश नम्बर सातका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नगर प्रमुख चौधरीको स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।
गत सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित आफ्नै घरमै रहेका नगर प्रममुख चौधरीमाथि दुई वटा मोटरसाइकलमा आएका चार जनाले खुकुरी र गोली प्रहार गरेका थिए ।
नगर प्रमुख चौधरीमाथि आक्रमण गरेपछि दुई जना मोटरसाईकलमा र अरू दुई जना मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए । सोमबार राति नै से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घर नजिकैबाट बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक सागर बोहराले मोटरसाइकलको विवरण यातायात व्यवस्था कार्यालयमा पठाइ अनुसन्धान भैरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार