१२ श्रावण २०८१, शनिबार

बन्दी अनसनकारीहरूद्वारा अनसन स्थगित



धनगढी । जिल्ला कारागार कैलालीमा थुनामै अनसन बसिरहेका २४ जना बन्दीले सोमबार अनसन स्थगित गरेका छन् । सोमबार अनसनकारी र स्थानीय प्रशासनबीच चारबुँदे सहमति भएपछि उनीहरूले अनसन स्थगित गरेको जनाइएको छ ।
२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरी सहित २५ जनाले गत २० गतेदेखि कारागारभित्रै आमरण अनसन शुरु गरेका थिए ।
अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि सांसद रेशमलाललाई तीन दिनअघि काठमाडौं लगिएको छ ।
सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी, कारागार प्रमुख तथा अनसनकारीबीच चार बुँदे सहमति भएको थियो ।
सहमतिपत्रमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कारागारका निमित्त जेलर भक्तबहादुर बिष्ट र अनसनकारीका तर्फबाट थारू कल्याणकारिणी सभाका सभापति लाहुराम चौधरीले हस्ताक्षर गरेको जनाइएको छ ।
सहमतिपत्रमा ‘टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका २५ जना बन्दीमाथि लगाइएको मुद्दालाई राजनीतिक रूपमा बढीमा १५ दिनभित्र सम्बोधन गरी यथाशाक्य क्षतिपूर्ति सहित रिहाईका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा जानकारी गराउने’ उल्लेख छ ।
त्यस्तै, थरुहट/थारूवान संघर्ष समितिले उठाएका पहिचान सहितको अधिकारसम्पन्न सीमांकनका सम्बन्धमा भएको छिनोफानो र प्रगतिका सम्बन्धमा अनसनरत पक्षलाई जानकारी गराउने र अनसनकारीहरूको स्वास्थ्य परीक्षण गराई उचित स्वास्थ्य उपचार गर्ने पनि उल्लेख छ ।
सहमतिपछि प्रमुख जिल्ला अधिकारी रिजालले अनसनकारी लाहुराम र लक्ष्मण थारूलाई तथा दुवै जनाले अन्य अनसनकारीलाई जुस खुवाएर अनसन तोडेका थिए ।
बन्दीहरूद्वारा अनसन स्थगित गर्ने कार्यक्रममा नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बम, नेकपा माओवादी केन्द्रका कार्यालय सचिव रमेश धामी, संघीय समाजवादी फोरमका प्रतिनिधि दलबहादुर घर्तीमगर, राष्ट्रिय जनता पार्टीका सहसंयोजक प्रेम रानाथारू, राष्ट्रिय जनमोर्चाका अध्यक्ष लक्षिराम आचार्य, विवेकशिल साझा पार्टीका जिल्ला संयोजक प्रकाशराज भट्ट, नयाँ शक्ति पार्टीका सचिवालय सदस्य दिनेश शाही र नेपाल परिवार दलका जिल्ला अध्यक्ष खडक नागरीको उपस्थिति रहेको थियो ।
त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख दीपकजंग ध्वज कार्की, कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरे तथा सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो ।
अनसन स्थगितपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै बन्दी लक्ष्मणले सरकारले पटक–पटक आश्वासन दिने, तर व्यवहारिक रूपमा कार्यान्वयन नगर्ने गरेको गुनासो गरे । उनले १५ दिनभित्र माग पुरा नभए पुन: आमरण अनसन शुरु गर्ने बताए ।

शान्ति समाजद्वारा मुद्दा फिर्ता नलिन माग
मानव अधिकार तथा शान्ति समाजले टीकापुर घटनामा संलग्न दोषिलाई उन्मुक्ति दिने उद्देश्यले मुद्दा फिर्ता नलिन माग दोहोर्‍याएको छ ।
समाजका महासचिव उत्तम पुडासैनीले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठन भएसँगै २०७२ साल भदौ ७ को टीकापुर घटनाका संलग्न दोषिहरूलाई आममाफी दिने प्रयास भइरहेको आशंका व्याप्त भएकाले त्यसो नगर्न आग्रह गरेका छन् ।
‘कुनै पनि अवस्थामा दोषिले उन्मुक्ति र निर्दोषले दण्ड सजाय पाउन नहुने’ भन्दै घटनाका दोषिबारे न्यायिक प्रक्रियाबाट टुंगो लगाउने भएकाले राजनीतिक हस्तक्षेप नगर्न विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ– राजनीतिक सहमतिका नाममा पीडकलाई उन्मुक्ति दिने, न्यायिक प्रक्रियालाई क्षतविक्षत पार्ने कार्यलाई सरकारले नियन्त्रण गर्नु पर्दछ । अपराधमा संलग्न व्यक्तिले कुनै पनि निकायको निर्वाचन जित्दैमा आममाफी दिन मिल्दैन ।
शान्ति समाजले ‘अपराधिक प्रवृत्तिका मानिसलाई निर्वाचनमा उम्मेदवार बनाउने दलहरूको नियत नै खराब देखिएको र अपराधको राजनीतिकरण बढ्दै गएको सन्दर्भमा अपराधमुक्त राजनीति र अपराधीमुक्त निर्वाचित निकायका लागि आवश्यक कानुनी व्यवस्था’ गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा बरिष्ठ प्रहरी उपरीक्षक सहित आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो ।
सो घटनाका मुख्य योजनाकार मानिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
घटनामा संलग्न भएको आरोपमा हाल कैलाली कारागारमा २४ जना पुर्पक्षका लागि थुनामा रहेका छन् । भने मुख्य योजनाकार मानिएका सांसद रेशमलाललाई उपचारका लागि गत शनिबार काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार