बोक्सीको आरोपमा यातना घटना : थप चार जना पक्राउ
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलियाकी राधा चौधरीलाई गत बिहीबार बोक्सीको आरोपमा कुटपिट गरेको घटनामा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, सुखडका अनुसार घटनाका मुख्य अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरीको आमा अन्दाजी ४५ वर्षीया सीता र अन्य तीन जनालाई सोमबार पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय सुखडका इञ्चार्ज प्रहरी निरीक्षक कर्णसिंह कार्कीका अनुसार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ३५ वर्षीय वेदप्रसाद चौधरी, चनकलाल चौधरी र १८ वर्षीय नारायण चौधरीलाई पक्राउ गरेको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराले प्रहरीले आइतबार पक्राउ परेकी किस्मती चौधरीविरुद्ध सोमबार जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको बताए ।
प्रहरीले आइतबार रामबहादुर र राधालाई कुटपिट गर्ने किस्मती विरुद्ध अदालतमा मुद्दा दर्ता गराइसकेको थियो ।
भोलेबाबाकी सहायिका दावी गर्ने किस्मिता आफूलाई ‘पार्वतीमाता’ बताउँछिन् । सुरुमा राधामाथि किस्मतीले नै कुटपिट गरेकी थिइन् ।
गत बिहीबार ‘बोक्सी’ भगाउन भन्दै ६ घन्टासम्म राधामाथि कुटपिट भएको थियो । राधालाई अहिले ओरेकको सेफ हाउसमा राखिएको छ ।
पीडकविरुद्ध बोक्सी अपराध दण्ड सजाय ऐन अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । ऐनअनुसार कसूरको मात्रा हेरी दुई वर्षदेखि ८ वर्षसम्म जेल सजाय र ५० हजारसम्म जरिवाना भराउने प्रावधान रहेको छ ।
काँग्रेसद्वारा दोषि जनप्रतिनिधिलाई पनि कारबाहीको माग
नेपाली काँग्रेस कैलालीले घोडाघोडी नगरपालिका–५, देउकलियामा भएको बोक्सीको आरोपमा एक युवतीमाथि भएको अमानवीय कुटपिट र यातना घटनामा दोषिलाई प्रहरीबाट मुक्त गर्न दवाव दिने जनप्रतिनिधिहरूलाई पनि कानुनी कारवाहीको माग गरेको छ ।
काँग्रेस कैलालीले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाका सबै अभियुक्त तथा दोषिलाई उन्मुक्ति दिन दवाव दिने घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
‘कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देवकलियाका १८ वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा फागुन २४ गते बिहीबारका दिन भएको अमानवीय र बर्बर ढंगको कुटपिट, यातना तथा दुव्र्यवहारको घटनाप्रति नेपाली काँग्रेस, कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ– ‘विश्वभरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा घोडाघोडी नगरपालिकाको देउकलियामा धार्मिक, सामाजिक, मानवीय संवेदना तथा कानुनी मूल्यमान्यता सबैको धज्जी उडाउँदै झारफूकका नाममा भोलेबाबा नामधारी पाखण्डी रामबहादुर चौधरी, पार्वतीमाता भनिने किस्मति चौधरी लगायतका व्यक्तिहरूद्वारा निरन्तर ६ घन्टासम्म मुड्की र लात बर्साई गरिएको कुकृत्यको घोर भत्र्सना गर्दछौं ।’
काँग्रेसका जिल्ला सचिव दीपकराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘गाउँलेहरूकै घेराभित्र एकजना पाखण्डीले ताण्डव नृत्य गरी मानव सभ्यता र मानवीय संवेदनामाथि प्रहार गर्दा समेत मुकदर्शक बन्ने अवस्थाले हाम्रो समाजमा अहिलेसम्म पनि अँध्यारोले राज गरिरहेको र त्यसकै बलमा पाखण्डी, ढाेंगिहरूले मौलाउने अवसर पाइरहेको स्पष्ट हुन्छ’ भनिएको छ । विज्ञप्तिमा ‘पाखण्डी रामबहादुर र उनका सहयोगीहरूको यो कुकृत्य जति अक्षम्य र भत्र्सनायोग्य छ, मिलापत्रका नाममा अपराधीलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न दवाव दिने घोडाघोडी नगरपालिकाका केही जनप्रतिनिधिको भूमिका पनि त्यत्तिकै निन्दनीय’ रहेको उल्लेख छ ।
काँग्रेसले विज्ञप्तिमा सभ्य समाजका लागि नै कलंक बनेको यो घटनाका दोषिहरूलाई कानुनी कठघरामा ल्याएर हदैसम्मको सजाय गर्न माग गरेको छ । त्यस्तै, पीडित राधा चौधरीलाई न्याय, सामाजिक सम्मान तथा उचित क्षतिपूर्तिको माग गर्दै उनको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।’
विज्ञप्तिमा भनिएको छ– ‘पीडित जनतालाई न्याय दिलाउन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा यस्तो कुकृत्यमा संलग्न अपराधिहरूलाई उन्मुक्ति दिन तथा पीडित राधा चौधरी र उहाँको परिवारमाथि झन् पीडा थप्ने भूमिका निर्वाह गरेका घोडाघोडी नगरपालिकाका केही जनप्रतिनिधिहरूलाई समेत कानुनी कारवाहीको दायरामा ल्याउन नेपाली काँग्रेस कैलाली सम्बन्धित सरकारी निकायसँग जोडदार माग गर्दछ ।
विज्ञप्तिमा ‘यस्ता कुरीति, विसंगति, शोषण, दमन, अत्याचारको अन्त्यका लागि व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि ध्यानाकर्षण गरिएको छ ।
त्यस्तै, नेपाल महिला संघ क्षेत्र नम्बर ५ कैलालीकी अध्यक्ष यमा शाही र सचिव शारदा थापाद्वारा जारी विज्ञप्तिमा पीडित राधा चौधरीको राम्रोसँग औषधि उपचार हुन नपाउँदै सेती अञ्चल अस्पतालबाट अन्यत्र सारिएको विषयमा ध्यानाकर्षण भएको उल्लेख छ । महिला संघले पीडित राधाको उचित उपचार गर्न माग गरेको छ ।