२३ बैशाख २०८१, आईतवार

सांसद रेशमलाललाई संसदमा उपस्थित गराउन माग



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई संसदमा उपस्थित गराउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबारको संसद बैठकमा राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले हिरासतमा रहेका सांसद चौधरीलाई संसदमा उपस्थित गराउनु सदनको समेत जिम्मेवारी रहेको उल्लेख गर्दै आवश्यक पहल गर्न सभामुखमार्फत सरकारसँग आग्रह गरेका हुन् ।
कैलालीको टीकापुर घटनाका मुख्य दोषिको अभियोगमा सांसद रेशमलाल प्रहरी हिरासतमा रहेका छन् ।
कैलाली जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कैलाली कारागारमा बन्दी रहेका उनले सात दिनदेखि आमरण अनशनमा बसेका छन् ।
अनशनमा रहेका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार कैलालीबाट काठमाडौं लगिएको थियो । अहिले उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।
राजपा अध्यक्ष मण्डलका नेता भण्डारीले रेशमलालको शारीरिक अवस्था कमजोर भएकोले उनका विषयमा सहयोग गर्न सदनसमक्ष माग गरे ।
‘चौधरीको उचित स्वास्थ्य उपचारको व्यवस्था सरकारले गरोस्, उनलाई जति सक्दो चाँडो संसदमा उपस्थित गराउन सरकार र संसदले पहल गरोस’, भण्डारीले माग गरे ।
चौधरीको विषयमा आवश्यक निर्णय हुन नसक्दा उनले सांसदको शपथ समेत लिन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार