२३ बैशाख २०८१, आईतवार

देउकलिया बोक्सीकाण्ड : प्रधानमन्त्री कार्यालयबाट कारवाही गर्न निर्देशन



धनगढी । प्रधानमन्त्री कार्यालयले कैलालीको घोडाघोडी नगरपालिका, देउकलियामा बिहीबार बोक्सीको आरोपमा एउटी युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न दोषि तथा प्रहरीबाट अपराधी छुटाउने कार्यमा संलग्न भएकाहरूमाथि तत्काल छानविन गरी दोषिउपर कारवाही गर्न जिल्ला प्रहरी कार्यालय, कैलालीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको प्रेसनोटमा भनिएको छ– ‘फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खबर बाहिर आएको छ । प्रहरीले निज रामबहादुर चौधरीलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ । मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जोकसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन ।’
‘यस्ता आपराधिक घटना भविष्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपन जस्ता कुरालाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ । यस्ता अन्धविश्वास विरुद्ध लड्न र तिनलाई निर्मुल पार्न सरकारलाई सधैं सबै नागरिकको सहयोग प्राप्त हुने अपेक्षा गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा युवतीमाथि भएको कुटपिट घटनामा कसैले पनि मिलापत्र गराउन दवाव दिएको प्रमाणित भएमा कानुनी दायरामा ल्याइने बताएका छन् । आइतबार पीडित राधा चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सेती अञ्चल अस्पताल पुगेका मुख्यमन्त्री भट्टले सञ्चारकर्मीहरूसँग भने– ‘यस्ता घटनामा मिलापत्र गराउने पनि दोषि हुन्छ, उसले पनि कानुनी सजाय पाउँछ ।’
मुख्यमन्त्री भट्टले पीडित राधाको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

सांसदहरूद्वारा दोषिहरूमाथि कारबाहीको माग
काठमाडौं । संघीय संसदका सांसदहरूले कैलालीमा बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपिट गर्नेहरूलाई कडा कारवाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको पहिलो बैठकमा सांसदहरूले अहिलेको आधुनिक युगमा पनि बोक्सीको आरोपमा गाउँलेहरू मिलेर युवतीलाई कुट्नु दानवीय कार्य भएको भन्दै घटनामा संलग्न भएकाहरूलाई कडा कारवाहीको माग गरे ।
सांसद दुर्गा पौडेलले सरकारले कडा कदम चाल्न नसक्दा समाजमा नारीमाथि हुने हिंसामा कमी नआएको भन्दै राधा चौधरीमाथि कुटपीट गर्नेलाई कडा कारवाही गर्न संसदको ध्यानाकर्षण गराइन् ।
माओवादी केन्द्रका सांसद वर्षमान पुन, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र राजपाका सरदसिंह भण्डारीले पनि कैलाली घटनाले सारा नेपालीलाई लज्जित बनाएको भन्दै दोषिलाई कारवाही गर्न माग गरे ।
त्यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले यो विषयमा सभामुखले रुलिङ गरेर तत्कालै सरकारको जवाफ माग्नुपर्ने बताए ।

 

महान्यायाधिवक्ताको कार्यालयद्वारा निर्देशन
धनगढी । नेपालको महान्यायाधिवक्ताको कार्यालयले कैलालीको बोक्सी काण्डमा प्रहरी र सरकारी वकिललाई गम्भीरतापूर्वक प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएको छ ।
‘अभियुक्तहरुलाई कानुन बमोजिम सजाय दिलाउने जिम्मेवारी अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलमा रहको छ’ आइतबार महान्यायधिवक्ताको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘यो विषयलाई गम्भीरतापूर्वक प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिन र पीडितलाई न्याय दिलाउने कार्यमा केन्द्रत हुने सरकारी वकिलको कार्यालयलाई निर्देशन गरिएको छ ।’
महान्यायाधिवक्ताको कार्यालयले ‘बोक्सी’ को आरोपमा राधा चौधरीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ ।

नागरिक समाजद्वारा भत्र्सना
कञ्चनपुर । कैलालीको घोडाघोडी नगरपालिका, देउकलियामा बिहीबार १८ वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा गरिएको कुटपिटको नागरिक समाज कञ्चनपुरले घोर भत्र्सना गरेको छ ।
नागरिक समाजको आइतबार बसेको बैठकले बोक्सीको आरोपमा गरिएको अमानवीय घटनामा संलग्न दोषिहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडितलाई उचित न्याय र क्षतिपूर्तिको माग गरेको छ ।
नागरिक समाजका अध्यक्ष भवराज रेग्मीको अध्यक्षतामा बसेको बैठकले यस्ता कुरीति तथा कुसंस्कारका घटना दोहोरिन नदिन समाजका सबै पक्ष सचेत बन्न समेत आग्रह गरिएको छ ।

 

याे पनि पढ्नुहाेस् 

बोक्सीको आरोपमा बर्बर यातना घटना : ‘पार्वतीमाता’ पक्राउ, अन्यको खोजी, अदालतमा मुद्दा दायर

बोक्सीको आरोपमा बर्बर यातना घटना ‘पार्वतीमाता’ पनि खोरमा

बोक्सीको निहुमा यातना घटना : संसददेखि संघसंस्थाद्वारा भत्र्सना, एआइजी भने– दोषिलाई उम्किन दिन्नौं

‘बोक्सी’ को आरोपमा चरम यातना : ‘नकुट्नुस भनेर बिन्तीभाउ गरे, रोएकराए, तर मानेनन्’ (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार