२० बैशाख २०८१, बिहीबार

पानी सम्बन्धी छलफल



टीकापुर । जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले पानी र पानीमा बस्ने प्राणी संरक्षणका लागि विशेष नीति बनाउन पहल गर्ने बताएका छन् । टीकापुरमा शनिबार भएको ‘पानी छलफल, पानी परियोजना’ कार्यक्रममा जिसस प्रमुख थापाले मोहना नदीमा पाइने डल्फिन र माछा संरक्षणका लागि नदीमा माछा मार्नेसम्बन्धी टेण्डर रद्द गरिने बताए ।
उनले कैलालीका सबै स्थानीय तहले पानी र प्रकृतिको संरक्षण गर्ने योजना बनाउन आग्रह गरे । उनले कैलालीमा बहुपयोगी बाँस खेती विस्तारका लागि यो वर्ष पाँच लाख बाँसका विरुपा रोप्ने कार्यक्रम रहेको बताए । उनले बाँस खेतीका लागि कैलालीका १२ वटा सामुदायिक वनले प्रस्ताव ल्याएको जानकारी दिए ।
कार्यक्रममा टीकापुर नगरपालिकाका उपप्रमुख केशरी बिष्टले नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि यस वर्ष सात वटा आइपीएम कक्षा सञ्चालन गरिरहेको बताइन् । उपप्रमुख बिष्टले आइपीएम कक्षा मार्फत तीन कठ्ठा जमिनमा आलु खेती गरेका किसानले १४ क्विन्टलसम्म उत्पादन गर्न सफल भएको बताइन् । उनले टीकापुर नगरपालिकाले नदी, ताल तलैया र जलचर प्राणीको संरक्षणका लागि नीति बनाएर लागू गर्ने बताइन् ।
कार्यक्रममा पर्यटन व्यवसायी थर्कबहादुर शाहले सहर प्रजातिका माछाको संख्या घट्दै गएकोले कैलालीका सबै नदी खोलमा माछा मार्ने कार्यमा रोक लगाउन माग गरे ।
कार्यक्रममा पत्रकार एकिन्द्र तिमिल्सिना, रानी जमरा कुलरिया मूल समितिका सचिव परशुराम महतौ, संरक्षणकर्मी विजयराज श्रेष्ठ, भोजराज ढुंगाना, भद्रवीर चौधरी, सुरज घर्तिमगर, लालवीर चौधरी, नरेश्वर धमाला, दिलबहादुर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रानी जमरा कुलरिया सिंचाई आयोजना मूल कुला समितिका उपाध्यक्ष दामोदर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पानी परियोजनाका प्रवन्धक भाष्कर भट्टराईले कार्यक्रमबारे जानकारी दिएका थिए ।
कार्यक्रम नेपाल पत्रकार वातावरण समूहको आयोजनामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार