२० बैशाख २०८१, बिहीबार

सवारी चालकको आयोगबाट पदपूर्ति गर्न माग



धनगढी । सरकारी तथा संस्थानका सवारी चालक एसोसिएसनहरूले श्रेणीबिहीन सवारी चालकहरूलाई लोकसेवा आयोगबाट पदपूर्ति गर्न माग गरेका छन् ।
लोकसेवा आयोगले २०५६ सालदेखि श्रेणीबिहीन सवारी चालकको पदपूर्ति गर्ने व्यवस्था हटाएको छ । सवारी चालक एसोसिएसनहरूले शनिबार ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै लोकसेवा आयोगबाट पदपूर्ति गर्न आग्रह गरे ।
संस्थाका डोटी जिल्ला अध्यक्ष मातृकाप्रसाद आचार्यले ७ नम्बर प्रदेशका स्थानीय तहका अधिकांस करारका कर्मचारीहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत पाउन नसकेको बताए । एसोसिएसनका अनुसार ७ नम्बर प्रदेशका ८८ वटा स्थानीय तह र नौ वटा जिल्ला समन्वय समितिमा गरी एक सय ५० बढी करारमा सवारी चालक रहेका छन् । त्यस्तै, सवारी चालकहरूले पाउन पारिश्रमिक पनि फरक फरक रहेको छ । अध्यक्ष आचार्यले १२ हजारदेखि १८ हजार रुपैयाँसम्म पारिश्रमिक रहेकोले सरकारी नियमानुसार करारमा रहेका सवारी चालकहरूको तलबमान तथा सेवासुविधा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले सवारी चालकहरूले आठ घण्टा भन्दा बढी सेवा गर्नुपरेमा थप भत्ताको व्यवस्था गर्नुपर्ने माग पनि गरे । त्यस्तै, सवारी चालकहरूको दुर्घटना विमाको व्यवस्था गर्नुपर्ने, सवारी दुर्घटना हुँदा निष्पक्ष रूपमा छानविन गरी वास्तविक दोषिलाई कारबाही गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार