अनसनरत सांसद चौधरीको उपचार सेती अञ्चल अस्पताल हुन सकेन
धनगढी । छ दिनदेखि कैलाली जिल्ला कारागारमा आमरण अनसन बसेका सांसद रेशमलाल चौधरीको उपचार सेती अञ्चल अस्पतालमा सम्भव हुन सकेन । शुक्रबारदेखि स्वास्थ्य अवस्था विग्रदै गएको चौधरीको उपचार अञ्चल अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि उनलार्इ काठमाडाैं रेफर गरिएकाे छ ।
डाक्टर शेरबहादुर कमरले यहाँ उपचार सम्भव छैन यो भन्दा सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्न भनेर रेफर कागज दिएको कैलाली प्रहरी प्रवक्ता सागर बोहोराले बताए ।
‘चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त भएकाले अदालतको आदेश आवश्यक पर्छ,’ कैलाली प्रहरी प्रवक्ता सागर बोहोराले भने, ‘चौधरीलाई अन्यत्र लग्नका लागि अदालती प्रक्रिया अघि बढाइन लागेको छ ।’ उनले अदालतको आदेश दिएपछि उनलाई अन्यत्र लगिने बताए । अहिले यहि विषयमा सुरक्षा समन्वय समितिको बैठक जारी रहेको छ ।
छ दिनसम्म पानी नखाई अनसनमा बसेकाले सांसद चौधरीको स्वास्थ्य अवस्था बिग्रेको हुन सक्ने सेती अञ्चल अस्पतालले जनाएको छ । चौधरीसहित २४ जनाले अनसन शुरु गरेदेखि पानी पनि नखाएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
अनसनरत थुनुवाहरू दिनहुँ बिरामी भइरहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाउँने गरिएको छ । उनीहरूमा प्रेसर कम हुँदा ग्यास्टीकका कारण बान्ता हुँदा शरीर कमजोर हुँदै गइरहेको स्वास्थ्यकर्मी भक्तबहादुर बिष्टले जानकारी दिए ।
चौधरी २०७२ साल भदौ ७ गते वरिष्ठ प्रहरी उपरिक्षकसहित आठ जना सुरक्षाकर्मी र एक बालक हत्या घटनाको मुख्य योजनाकारको अभियोगमा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । टीकापुर घटनापश्चात फरार रहेका चौधरीले मंसिर २० गते भएको प्रदेश तथा प्रतिनिधि सभाबाट ठूलो मतले विजयी भएका थिए । वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका चौधरीले विजयी पश्चात वारेसनामा मार्फतनै प्रमाणपत्र लिने प्रयास गरेपछि सर्वोच्चले रोक लगाएको थियो । सर्वोच्चको आदेश अनुसार चौधरीले १४ गते जिल्ला अदालत कैलालीमा आत्मसर्मपण गरेका थिए । कैलाली जिल्ला अदालतले सोही दिननै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
कारागारमा एक हप्तासम्म चुपचाप बसेका चौधरीले २० गते भएको सपथ कार्यक्रममा सहभागि हुन नपाएपछि सोही दिन साँझ ६ बजेदेखि अनसन शुरु गरेका थिए । उनीसँगै सोही घटनामा थुनामा रहेका २४ जना पनि अनसनमा बसेका छन् ।
टीकापुर घटनामै थुनुवा रहेका विश्राम चौधरीलाई पनि बिहीबार राति अस्पताल ल्याएर उपचार गरिएको थियो । जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टका अनुसार अनशनरत रेशम चौधरी, विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको अवस्था गम्भीर छ ।
अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जीतको प्रमाणपत्रसँगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।