मानवअधिकार आयोगले रेशमलाई भेट्यो
धनगढी । राष्ट्रिय मानवअधिकार आयोगले कैलाली जिल्ला कारागारमा बन्दी रहेका र चार दिनदेखि अनशनरत कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीसहित २४ जना बन्दीलाई बुधबार भेटेको छ ।
आयोगका केन्द्रीय सदस्य प्रकाश वस्तीको नेतृत्वमा गएको टोलीले सांसद रेशमलाल तथा अन्यहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाइएको छ ।
भेटघाटको क्रममा आयोगको टोलीले अनशनकारीहरूलाई आमरण अनशन तोड्न आग्रह गरेको थियो । ‘हामीहरू विजेताको प्रमाणपत्र र सपथ ग्रहणको लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता गर्दछौं’ टोलीका एक सदस्यले भने । तर रिहाईको प्रक्रिया अदालतको क्षेत्राधिकारभित्र पर्ने भएकोले अदालती प्रक्रियाबाट हुने उनले बताए ।
उनीहरूको भेटपछि आयोग केन्द्रीय कार्यालयले विभिन्न मागहरू सरकार समक्ष गरेको छ । आयोगले सांसद चौधरीलाई विजयको प्रमाणपत्रसँगै सपथ ग्रहण गराउन सरकारलाई निर्देशन दिने निर्णय गरेको जनाइएको छ ।