११ श्रावण २०८१, शुक्रबार

धनगढीमा शहरी विकास परियोजना शुरु



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा क्षेत्रीय शहरी विकास परियोजना शुरु भएको छ ।
बुधबार धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमबीच सो परियोजना आरम्भ भएको जानकारी दियो ।
उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले धनगढीलाई सुविधासम्पन्न र विकशित शहरको रूपमा विकास गर्न परियोजनाको शुभारम्भ गरिएको बताए ।
एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालन हुने क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत धनगढीको उपमहानगरपालिकामा सडक तथा नाली, ढल, फोहोरमैला व्यवस्थापन, फोहोरपानी व्यवस्थापन लगायतका क्षेत्रमा पाँच वर्ष काम गर्ने र तीन अर्ब १९ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।
शहरी विकास परियोजनाका निर्देशक चक्रवर्ती कण्ठले आयोजनाले धनगढी उपमहानगरपालिकाका साविक वडा नम्बर १, २, ३, ४, ५, ६, ८, १०, १२ र १३ मा एक अर्ब २६ करोड रुपैयाँको लागतमा ३४ किलोमिटर सडक निर्माण गर्ने बताए ।
त्यस्तै, उपमहानगरपालिकाका साविक वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ मा ४५ करोड रुपैयाँको लागतमा ढल व्यवस्थापन गरिने छ ।
त्यस्तै, एकीकृत फोहोरमैला व्यवस्थापनका लागि ५७ करोड रुपैयाँको लागतमा डम्पिङ साईट निर्माण गरिने छ ।
आयोजना निर्देशक कण्ठले आयोजनाले निर्माणको कार्य मात्रै गर्ने भएकाले पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने संरचना भत्काउने कार्य जतिसक्दो चाडो उपमहानगरपालिकाल गर्न सक्यो त्यति चाडो नै कार्य अगाडि बढ्ने बताए ।
हाल धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र र सडकको सर्भे कार्य पूरा भइसकेको जनाइएको छ । आयोजना सञ्चालनमा कुनै अवरोध हुने नदेखिएमा छिट्टै टेण्डर प्रक्रियामा गएर आउँदो आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण कार्य थालनी गर्ने तयारी रहेको क्षेत्रीय शहरी विकाश आयोजना निर्देशक कण्ठ बताए ।
आयोजनाले निर्माणका क्रममा कुनै विवाद आएमा फिर्ता हुने चेतावनीपछि धनगढी उपमहानगरपालिकाले पनि सो परियोजना सफल पार्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
वडा नम्बर २ मा डम्पिङ साईट निर्माण गर्ने निश्चित भइसकेको र निर्माण हुने ३४ किलोमिटर सडकमध्ये ट्राफिक चौराहादेखि क्याम्पस चौकसम्म मात्रै सडक विस्तार गर्न केही समस्या हुने देखिएको छ ।
ट्राफिक चौराहादेखि क्याम्पस चौकसम्मका करिब ७० प्रतिशत घरधनीहरू पनि सडक विस्तार गर्नुपर्ने पक्षमा देखिएकाले विकासका लागि सबैमा सहयोगका लागि नगर प्रमुख वडे आग्रह गरे ।
ढल निकाशको उचित व्यवस्थापन हुन नसक्दा बर्सेनि धनगढीका अधिकाश ठाउँ डुवानमा पर्ने गरेको छ भने सडक साँघुरो हुँदा ट्राफिक व्यवस्थापन चुनौति बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार