करण थापा हत्या घटना : प्रहरीद्वारा अभियुक्त सार्वजनिक
धनगढी । कैलाली प्रहरीले टीकापुरमा करण थापाको हत्यामा संलग्न दुई जना अभियुक्तलाई बुधबार सार्वजनिक गरेको छ ।
थापाको हत्यामा संलग्न टीकापुर नगरपालिका वडा नम्बर १ का १९ वर्षीय सन्दीप रावल र सोही नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय सागर पाण्डेलाई सार्वजनिक गरेको हो ।
गत १७ गते राति टीकापुरको खेलमैदानमा होली भइरहेको बेला २१ वर्षीय करणको हत्या भएको थियो ।
प्रहरीले उनीहरूलाई काठमाडौंको बालाजु चौकबाट सोमबार पक्राउ गरेको थियो । उनीहरूलाई मंगलबार हवाई जहाजबाट धनगढी ल्याइएको र बुधबार कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।
प्रहरी उपरीक्षक घिमिरेका अनुसार पक्राउ परेका दुवै जनाले सामान्य विवादका कारण करणको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
अभियुक्तहरूले थापामाथि चक्कु प्रहार गरेर हत्या गरेका थिए । हत्या गरे लगत्तै अभियुक्त सन्दीप र सागर फरार भएका थिए ।
प्रहरीका अनुसार अभियुक्त र मृतक एकअर्कासँग परिचित समेत नरहेको अनुसन्धानका क्रममा खुलेको छ ।
हत्यामा प्रयोग भएको चक्कु बुधबार बरामद भइसकेको एसपी घिमिरे जानकारी दिए ।
हत्या घटनाको दोस्रो दिन प्रहरीले शंकाका आधारमा नियन्त्रणमा लिएका १३ जनाबाटै सन्दीप र सागरबाट हत्या भएको खुलेको थियो ।
जिल्ला प्रहरी प्रमुख घिमिरेले हत्यापछि फरार भएका अभियुक्त दुवै जना एक रात बर्दियामा बसेको र सोही स्थानबाट ड्राइभरको मोबाइल खोसेर साथीसँग सम्पर्क गरेको बताए । उनीहरूले सम्पर्क गरेको नम्बरबाटै फोन ट्रयाक गर्दा काठमाडौंबाट पक्राउ गर्न सफल भएको उनले बताए ।
उनीहरूविरुद्ध प्रहरीले मुलुकी ऐन अन्तर्गत ज्यान सम्बन्धी मुद्दा अदालतमा दर्ता गराएको छ । यस ऐनअनुसार जन्म कैदको व्यवस्था रहेको छ ।