११ श्रावण २०८१, शुक्रबार

सांसद चौधरीसहित २४ जनाले थाले अनशन



धनगढी । टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरी सहित २४ जनाले आइतबार साँझबाट कैलाली कारागारमा अनशन सुरु गरेका छन् ।
उनीहरूले तीन बुँदे माग राख्दै साँझ पाँच बजेदेखि अनशन सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले पुष्टि गरे ।
अनशनकारीहरूले सांसद रेशमलाललाई विजयी प्रमाणपत्र दिनुपर्ने र सपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने र टीकापुर घटनामा आरोपित २६ जनालाई तत्काल क्षतिपूर्तिसहित रिहाई गर्नुका साथै थरुहट आन्दोलनका माग सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।
२०७२ साल भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको टीकापुर घटनामा सांसद रेशमलाल मुख्य आरोपी हुन् ।
घटनामा संलग्न रहेको अभियोगमा सांसद रेशमलाल सहित २४ जना हाल कैलाली कारागारमा बन्दी रहेका छन् । भने दुई जना नाबालकलाई पोखरास्थित बालसुधार गृहमा राखिएको छ ।
घटनापछि फरार रहेका सांसद रेशमलाल केही दिन अघि कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतले सोही दिन उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य चुनाव लडेका उनी प्रतिस्पर्धीभन्दा फराकिलो मत अन्तरले विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार